विराटनगर, ३ असार । कोशी प्रदेशको उद्यम सम्भावना सम्बन्धि अध्ययन प्रतिवेदनबारे सार्वजनिक गरिएको छ । प्रदेशका १४ जिल्लामा रहेको स्रोतमा आधारित उद्यमहरुको पूर्व सम्भावना अध्ययन प्रतिवेदन आज विराटनगरमा सार्वजनिक गरिएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा नेपाल उद्योग महासंघ ,कृषि उद्यम केन्द्रको सहयोगमा कृषि उद्यम केन्द्रले गरेको अध्ययन प्रतिवेदनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यसमाथि छलफल गरिएको छ । प्रदेशमा कृषि र अन्य स्थानीय स्रोतहरूको उपलब्धताको समीक्षा, प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्रोतहरूमा आधारित सम्भावित उद्यमहरूको पहिचान, सम्भावित उद्यमहरुका लागि बजारको अवस्था विश्लेषण, स्थानीय कच्चा पदार्थको उपलब्धताका आधारमा प्रदेशका जिल्लाहरुमा सम्भावित उद्यमहरूको अवस्था र कोशी प्रदेशमा उद्यम विकासका लागि लगानीका क्षेत्रहरु पहिल्याउन प्रारम्भिक तहको सूचना उपलब्ध गराउने उद्देश्यले अध्ययन गरिएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । २०७९ फागुनदेखि २०८० जेठसम्मको अध्ययन अवधिमा १४ वटै जिल्लाका २५२ जना सरकोरवाला व्यक्तिहरुसँग छलफल गरी अध्ययन प्रतिवेदन तयार पारिएको हो ।
कोशी प्रदेशमा विभिन्न बाली तथा पशुपंक्षीको उत्पादन बृद्धिको सम्भावना रहेकोले कच्चा पदार्थ उपलब्ध हुन सक्ने, युवाहरुमा उद्यमशीलता तर्फ आकर्षण देखिंदा नवप्रवद्र्धन उद्यमहरु संचालन हुन सक्ने सम्भावना रहेको पाइएको जनाइएको छ । सरकारको नीति उद्यम विकास प्रवर्धनमुखी रहेकाले बिभिन्न सहयोग र अवसर उपलब्ध रहेको, प्रविधि विकासले कृषि बस्तुहरुको उत्पादन र उत्पादकत्व बृद्धि हुँदै गइरहेको, वित्तीय संस्थाहरुमा पहुँच वृद्धि तथा वित्तीय संस्थाहरुको उद्यममा लगानी बृद्धि योजनाको लाभ हुनसक्ने सम्भावना देखिएको अध्ययनका क्रममा पाइएको छ ।
कृषि उद्यम केन्द्रका अधिकृत दिपेन्द्र जोशीले उक्त पूर्व सम्भावना अध्ययन प्रतिवेदनको सारांश सार्वजनिक गरेका थिए । त्यसैगरी निजी सार्वजनिक साझेदारी अवसरबारे बालकृष्ण दाहालले प्रस्तुतिकरण गर्नुभएको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम समितिका सभापति डिबी बस्नेतले पहिचान भएका उत्पादनका सम्भावनालाई अघि बढाउन स्थानीय तहहरुले अग्रसरता देखाउनु पर्ने बताउनु भएको थियो । वहांले निजी क्षेत्रले उद्यमशिलताको भोग जगाउने उदेश्यले अध्ययन गरेर सरोकारवालाहरुलाई जानकारी गराएको बताउनु भयो ।
नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्थानीय श्रोतको उपलब्धताको आधारमा सम्भावना रहेका क्षेत्रहरुको बारेमा अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिनु भयो । वहांले जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघ मार्फत एक गाउँ एक उत्पादन, एक जिल्ला एक उत्पादन जस्ता कार्यक्रम ल्याएर महासंघले कृषि व्यवसायीहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो । सरकारले उद्यम विकासका लागि प्राथमिकताका साथ कार्यक्रमहरु ल्याएको बताउनु भयो ।