विराटनगर २३ जेठ । कोशी प्रदेशमा मानव बेचविखनका घटनाहरु बर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्ला दुई आर्थिक वर्षर्ला अध्ययन गर्दा घटना बढ्दो क्रममा रहेको छ ।
आर्थिक वर्ष २०७६-०७७ मा कोशी प्रदेशमा मानव बेचबिखन सम्बन्धी २२ वटा जाहेरीमा ३३ जना महिला मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको देखिएको छ । ३३ जना महिलामा १५ जना जनजाती ८ जना क्षेत्री ४ दलित ३ ब्रामह्ण र ३ मधेशी महिलाहरु रहेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा क्रियाशिल साझा सवालका लागि साझा मञ्च कोकन विराटनगरले जनाएको छ ।
आर्थिक वर्ष २०७६–०७७ को तुलनामा २०७७–०७८ मा पीडितको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । आ.व.२०७७–०७८ मानव बेचबिखन सम्बन्धी २३ वटा जाहेरीमा ३७ जना महिला र १ जना पुरुष मानव बेचबिखन तथा ओसारपसारबाट पीडित रहेको देखिएको छ । ३७ जना महिलामा २३ जना जनजाती २ जना क्षेत्री ४ दलित ३ ब्रामह्ण र ५ मधेशी महिलाहरु छन् ।
प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा कोकनले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । कोकनले सोमबार विराटनगरमा आयोजना गरेको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
आर्थिक क्रियाकलापमा भएको वृद्धि, बढ्दो बसाईसराई तथा सहरीकरण, वैदेशिक रोजगारमा युवाहरुको उच्च संलग्नता आदि जस्ता कारणले गर्दा आन्तरिकरुपमा पनि मानव बेचबिखनको प्रभाव बढ्दै गएको कोकन अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो । उहाँले मनोरञ्जनका क्षेत्रमा देखिएको यौन हिंसा, यौन व्यवसायमा संलग्नता, श्रम शोषण र बाह्य बजारसंगको सञ्जालीकरणले चुनौती थपेको छ । त्यस्तै अनौपचारिक रुपमा सञ्चालन भएका यौन व्यवसाय, बाध्यकारी श्रम, अवैधानिक मानव अङ्ग झिक्ने कार्य, घरेलु श्रमिकको शोषण आदिमा भएको वृद्धिले आन्तरिक मानव बेचबिखन तथा ओसारपसारको जोखिम पाइएको बताउनुभयो ।
कार्यपत्र प्रस्तुत गर्दै कोकन सल्लाहकार कोषराज न्यौपानेले नेपाल भारत सीमाबाट दैनिक सयौँको सङ्ख्यामा बेचबिखनमा पर्न सक्ने आशङ्का गरिएका व्यक्तिहरुको उद्दार गर्ने, अभियुक्तहरु पक्राउ गर्ने र नागरिक समाज, गैरसरकारी संस्था तथा संचारकर्मीहरुको सहयोगमा नेपाल र भारत सरकार मिलेर बेचबिखनमा परेका व्यक्तिहरुको उद्दार समय समयमा हुदै आएको अध्ययनका क्रममा पाईएको बताउनुभयो । उहाँले झापा, ईलाम, मोरङ्ग, सुनसरी, जिल्लाहरुका सीमानाका निगरानी केन्द्रहरुमा मुख्य गरी रातीको समयमा समेत निगरानी बढाउनु पर्ने अवस्था रहेको बताउनुभयो ।
प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीले नेपालमा मानव बेचविखन विरुद्धको विषयमा प्रर्याप्त ऐन कानुन बनेपनि प्रभावकारीकारी कार्यन्वयनमा समस्या रहेको बताउनुभयो । उहाँले मानव बेचविखन तथा ओसारपसारका घटना बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नारायणप्रसाद चिमरियाले आर्थिक वर्ष २०७७–०७८ मा २३ वटा र ०७८ –०८९ को बैशाख मसान्त सम्ममा १४ वटा मानव बेचविखनविरुद्धको मुद्धा दर्ता भएको जानकारी दिनुभयो । कार्यक्रममा बर्जु गाउँपालिकाका उपाध्यक्ष नितुकुमारी चौधरी, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादव, बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्दकुमारी सुनुवार, लगायत सुनसरी मोरङमा कार्यरत्त गैरसरकारी संघसंस्था व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।