प्रदेशको नामलाई लिएर विराटनगरमा दोहोरो झडप, ५० जना घाईते

विराटनगर १४ जेठ । कोशी प्रदेशको नामकरण विरुद्ध प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन । सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन ।

प्रदेशसभा भवन अगाडी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीवीच ढुङ्गामुढा हुँदा दुर्वतर्फका गरी चार दर्जन बढी घाइते भएका छन् । प्रहरीले झडपको स्थिति नियन्त्रण गर्न पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो । प्रर्दशनकारीले ढुङ्गा, इट्टाले प्रहार गरेर स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका गाडी तथा भौतिक संरचनामा क्षति पुगेको छ । स्वास्थ्य मन्त्रालयमा पार्किङ गरि राखिएको मन्त्री निर्मला लिम्वु र स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले प्रयोग गर्दै आएको गाडीमा क्षति पुगेको छ । ढुङ्गा, इटा तथा बोतलले लागेर मन्त्रालयका सडक तर्फका झ्यालका सिसाहरु कामै नलाग्ने भएका छन् ।

परिस्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रहरीले करिव दर्जन दर्जन प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिनुभयो । भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ ।

प्रदेशको नाम गत फागुन १७ गते कोशी राखेसँगै पहिचानवादीले आन्दोलन सुरु गरेका थिए । त्यसपछि प्रदेशसभाको बैठक आज बसेको हो ।