
विराटनगर ५ जेठ । मोरङको धनपालथानमा कसैको विवाह भए गाउँपालिकाको स्वास्थ्यको टोली शुभकामना कार्ड लिएर घर पुग्छ । स्वास्थ्यको टोलीले दाम्पत्य जीवनको शुभकामना मात्रै दिदैन । विवाह पछि गर्नुपर्ने आवस्यक कार्य तथा तयारीका बारेमा पनि जानकारी गराउने गरेको छ । विवाह पछि गर्नुपर्ने कार्यहरु विवाह दर्ता, सन्तान जन्माउनका लागि उपयुक्त समयको छनौट, परिवार योजना, जन्मजात अपाङ्गताबाट बच्ने उपायहरु, गर्भपूर्व र गर्भावस्थामा फोलिक एडिडको आवस्यकता, यसको सेवन र गर्भ बसेको लक्षणहरुका बारेमा उल्लेख गरिएको कार्डका बारेमा अवगत पनि गराउने गरेको छ ।
स्वास्थ्यको टोलीले गर्भवती भएको थाहा पाए लगत्तै उनीहरुको पनि घरमा गएर बधाई दिने गरेको बधाईसँगै गर्भावस्थामा ध्यानदिनुपर्ने कुरा, गर्भावस्थामा देखापर्न सक्ने खतराका लक्षणहरु, गर्भावस्थामा प्रसुतीका लागि गर्नुपर्ने पूर्व तयारी, स्वास्थ्य संस्थामा प्रसुति गराउँदा हुने फाईदाहरु बच्चा जन्माउने बेलामा देखापर्न सक्ने खतराका लक्षणहरु, नवजात शिशुको स्याहारमा ध्यानदिनुपर्ने कुराहरु, नवजात शिशुमा देखापर्न सक्ने खतराका लक्षणहरु, सुत्केरी अवस्थामा देखापर्न सक्ने खतराका लक्षणहरु, सुत्केरी जाँच, नवजात शिशुको जाँच र सुत्केरीपछि परिवार योजनाको आवस्यकता बारेमा जानकारी गराउँदै सोही व्यहोराका कार्ड पनि दिइने गरेको छ ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउन्डेसन नेपाल र स्थानीय तहहरुको लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालित छ । कार्यक्रम सञ्चालन भएका जिल्लाका हरेक स्थानीय तहमा शुभकामना कार्ड वितरण गर्ने गरिएको छ । तर मोरङको धनपालथान गाउँपालिकाले भने विवाह भएको र गर्भवती भएको थाहा पाउने वित्तिकै घरमै कार्ड लिएर पालिकाको स्वास्थ्यका कर्मचारी पुग्ने गरेका छन् । अपाङ्गता रोकथामका लागि पालिकाले घर–घरमै पुगेर यसबारे सचेतना जगाउने कार्य गरिरहेको गाउँपालिकाका अपाङ्गता रोकथाम कार्यक्रम अधिकृत ठाकुरप्रसाद राजवंशीले जानकारी दिनुभयो । गाउँपालिकाले प्रति शुभकामना कार्ड पुर्याएबापत कर्मचारीलाई २५ रुपैयाँ प्रोत्साहन बापत दिने गरेको उहाँले बताउनुभयो । राजवंशीले भन्नुभयो,‘ कार्यक्रमलाई प्रभावकारी बनाउन पारिश्रमिक बाहेक थप २५ रुपैयाँ दिन थालिएको हो ।’ प्रोत्साहनको कार्यक्रम शुरु भएपछि कार्यक्रमको प्रभावकारीता बढ्दै गएको उहाँले बताउनुभयो । राजवंशीले भन्नुभयो,‘ गर्भवती र नव विवाहितको घर अहिले छुट्दैन । हामी पुगी हाल्छौं ।’
दाम्पत्य जीवन स्वस्थ, सुखी र उज्वल बनाउन जान्नै पर्ने प्रजनन स्वास्थ्य र जन्मजात अपाङ्गता रोकथाम सम्वन्धि महत्वपूर्ण जानकारीहरु सहितको शुभकामना कार्ड दिने गरिएको करुणा फाउन्सेडन नेपालका मोरङ कार्यक्रम संयोजक श्यामकिशोर साहले जानकारी दिनुभयो । शुभकामना कार्डले नवविवाहित दम्पतीहरुलाई योजनबद्ध तरिकाहरुबाट स्वस्थ बच्चा जन्माउन उत्प्ररेणा गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,‘शुभकामना कार्डबाट जन्मजात अपाङ्गता र मातृशिशु मृत्युदर घटाउन गर्नुपर्ने तयारीका बारेमा पनि जानकारी हुने छ ।’ कार्यक्रम सञ्चालित स्थानीयतहहरुमा कार्यक्रम प्रभावकारी हुँदै गएको उहाँले बताउनुभयो । मोरङका ८ स्थानीय तहरुमा कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
अपाङ्गतामैत्री बर्थिङ सेन्टर
धनपालथान गाउँपालिकामा अपाङ्गता मैत्री बर्थिङ सेन्टर निर्माण गरिएको छ । अपाङ्गता भएका महिलाहरुलाई बर्थिङ सेन्टर आउन सहजताका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउन्डेसन र धनपालथान गाउँपालिकाको लागत साझेदारीमा दादरवैरिया स्वास्थ्य चौकीमा अपाङ्गतामैत्री संरचना निर्माण गरिएको हो ।
बर्थिक सेन्टरमा मासिक रुपमा १५ जना सम्म गर्भवती महिलाहरु भर्ना हुने गरेको स्वास्थ्य चौकीका इन्चार्ज डिल्लीराम श्रेष्ठले बताउनुभयो । दादरवैरिया स्वास्थ्य चौकी अन्र्तगतको बर्थिङ सेन्टरमा रंगेली, जहदा लगायतका स्थानीय छिमेकी स्थानहरुबाट पनि गर्भवती महिलाहरु आउने गरेको उहाँले बताउनुभयो । अपाङ्गतामैत्री संरचना निर्माणपछि अपाङ्गता भएका गर्भवतीहरुको पनि संख्या बढ्ने उहाँले बताउनुभयो । धनपालथान गाउँपालिका भित्रका महिलाले बर्थिङ सेन्टरमा छोरी जन्माएमा नगद ५ हजार पनि दिने गरिएको उहाँले बताउनुभयो ।
दादरवैरिया स्वास्थ्य चौकीमा अहिले टेक टायलको प्रयोग गरेर अपाङ्गता मैत्री शौचालय निर्माण गरिएको करुणा फाउन्डेसनका कार्यक्रम अधिकृत राजीव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मोरङमा पहिलो पटक अपाङ्गतामैत्री बर्थिङ सेन्टर धनपालमा निर्माण भएको छ । उहाँका अनुसार जिल्ला समन्वय समितिका उपप्रमुख सहितको टोलीले अपाङ्गतामैत्री शौचालयको अनुगमनको काम गरिसकीएको छ ।