सोसल मिडिया कम्पनी ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका विश्वका नम्बर वान अर्बपति एलन मस्क ट्वीटरको निर्देशक बोर्डमा मनोनित हुने भएका छन् ।
ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका टेस्ला कम्पनीका प्रमुख एलन मस्कलाई ट्वीटरको बोर्डमा मनोनित गरिने कम्पनीले मंगलबार जनाएको छ ।
उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि कब्जा जमाउने एलन मस्कको प्रयास तत्कालका लागि रोकिने बताइएको छ । कतिपय विश्लेषकहरुले खर्बपति मस्कले ट्वीटर कम्पनी नै खरीद गर्ने योजना बनाइरहेको अनुमान गरेका थिए ।
ट्वीटरको निर्देशक बोर्डको सदस्य बनेसँगै अब मस्कले कम्पनीको १४.९ प्रतिशत भन्दा धेरै साधारण शेयर शेयर खरीद गर्न पाउने छैनन् ।
ट्वीटरका सिइओ पराग अग्रवालले मस्कको मनोनयनका बारेमा ट्वीट गर्दै भनेका छन्– एलन मस्कलाई हाम्रो बोर्डमा मनोनयन गर्न गैरहेको कुरा बताउन पाउँदा हामी उत्साहित छौं । उनी धैर्यवान विश्वासकर्ता र प्रदत्त सेवाका विषयमा कठोर आलोचक पनि हुुन् जसको हामीलाई ट्वीटरमा खाँचो छ । यसले हामीलाई दीर्घकालमा झनै बलियो बनाउनेछ ।
एजेन्सी