विराटनगर, १९ चैत । पूर्वाञ्चल विश्वविद्यालयले आज ६ हजार विद्यार्थीलाई दिक्षित गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुन्दरहरैचाको गोठगाउँमा आज भएको ११ औं दीक्षान्त समारोहमा ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका छन् ।
कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर १४८, व्यवस्थापन संकायमा स्नातक तहमा १ हजार २ सय ४२ र स्नातकोत्तरमा ६१४ विधार्थी दीक्षित भएका छन् ।
चिकित्साशास्त्रमा स्नातकमा २ हजार ३१४ विधार्थी दीक्षित भएका छन् । यस्तै विज्ञान तथा प्रविधि संकायको स्नातक तहमा १ हजार २६१ र स्नातकोत्तरमा १२३ विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहलाई संवोधन गर्दै विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले आफ्नो अध्यापन, अध्ययन र अनुसन्धानको दायरालाई अझ ब्यापक बनाउनु पर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहाललले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । प्रविधिमा भइरहेको तीब्र गतिको विकास र विस्तारको युग भएकाले दक्ष जनशक्तिको उत्पादन गर्न बिद्यालयहरुले जोड दिनु पर्ने उहाँको जोड छ ।
२१औँ शताब्दीमा हाम्रा आवश्यकता परिपूर्तिका लागि उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै वैकल्पिक साधन र स्रोतहरूको खोजी गर्न विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्दै लैजानु आवश्यक रहेको समेत प्रधानमन्त्री दाहालको भनाई छ ।