विराटनगर २९ माघ । मोरङको बेलबारी नगरपालिकाले चालु आर्थिक वर्षको ७ महिनामा ३१ प्रतिशत भौतिक प्रगति गरेको छ ।
चालु आर्थिक वर्ष २०७९–०८० का लागि नगरपालिकाका ५६९ वटा योजनाहरु मध्ये ३१ प्रतिशत योजनाको काम सम्पन्न भएको छ । कुल योजनाहरु मध्ये १७६ वटा सम्झौता भएको, ७५ योजनाको भुक्तानी भएको र ३९३ वटा योजनाहरु सम्झौताको चरणमा रहेको नगरपालिकाका योजना अधिकृत झमक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार वडागत योजनाहरु २७० मध्ये ८६ वटाको सम्झौता भएको, २० वटाको भुक्तानी भएको र १८४ वटा सम्झौता हुने क्रममा रहेको छ । सार्वजनिक निजी क्षेत्र मोडलमा फौहोर मैला व्यवस्थापनको सम्झौता अन्तिम चरणमा रहेको योजना अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
नगरक्षेत्र भित्र सञ्चालित ठुला आयोजनाहरुको काम पनि अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । धनपालगढी पर्यटकीय क्षेत्रको साझेदारी योजनाको भौतिक प्रगति करिव ८० प्रतिशत सम्पन्न भएको नगर प्रमुख डिपी राईले बताउनुभयो । उहाँका अनुसार १५ सैयाको बेलबारी नगर अस्पताल, रैझार पुल निर्माणको भौतिक प्रगति र बेलबारी व्यापारी कम्पलेक्स निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । नगर प्रमुख राईले धनपालगढी पुरातात्विक सम्पदाको रुपमा विकास गरिने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको अध्ययन टोलीले हालै अध्ययन गरेर गएको र अन्तिम प्रतिवेदन आउन बाँकी रहेको उहाँले बताउनुभयो । धनपालगढीमा ८ सय वर्षअघिको इट्टा फेला परेको नगर प्रमुख राईले बताउनुभयो । उहाँले बेलबारी व्यापारी कम्पलेक्सको काम पनि चाँडै सकिने बताउनुभयो । नगरभित्र छरिएर रहेका बजारलाई एकत्रित र सुरक्षित रुपमा सञ्चालनका लागि व्यापारी कम्पलेक्स महत्वपूर्ण हुने उहाँको भनाई छ ।
नगरपालिकाले चालु आर्थिकवर्षको हाल सम्म ६९ जनालाई स्वास्थ्य उपचार खर्च उपलब्ध गराएको छ । मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला प्रत्यारोपण, डायलासिस, स्पाइनल इन्जुरी,पार्किनन्स, प्यालाईसिसका गरि ६९ विरामीलाई २५ लाख स्वास्थ्य उपचार खर्च उपलब्ध गराईएको स्वास्थ्य शाखाका इन्चार्ज सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ९६ जनालाई रोगको प्रकृति हेरेर ११ लाख ५५ हजार उपलब्ध गराईएको छ । उपमेयरसँग मातृशिशु कार्यक्रम अन्र्तगत पहिलो सन्तान छोरी हुने आमाहरुलाई प्रोत्साहन बापत १० जनालाई ५–५ हजारका दरले प्रोत्साहन रकम दिईएको उहाँले बताउनुभयो ।
नगरपालिकाले अनुगमनलाई पनि तीव्रता दिईउको जनाएको छ । नगर उपप्रमुख नितु थापाले भवन, सडक, खोलातटबन्ध लगायतका विभिन्न भौतिक पूर्वाधारहरुको नियमित अनुगमन भईरहेको बताउनुभयो ।