विराटनगरको विकासमा सहयोग गर्न एनआरएनएलाई प्रमुख कोइरालाको आग्रह

विराटनगर २५ माघ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न अमेरिकामा बसोबास गर्ने विराटनगरवासी गैरआवासीय नेपाली (एनआरएनए)लाई आग्रह गरेका छन् ।


बुधबार बिहान जुम मिटिङलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको विकासमा विराटनगरमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका एनआरएनहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । “विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेका छौं हामी,” मेयर कोइरालाले भने, “यो अभियानमा त्यहाँ बसेर पनि तपाईंहरूले सहयोग गर्न सक्नुहुन्छ । विराटनगरवासी धेरै नै हुनुहुन्छ त्यहाँ । सहयोगका लागि तपाईंहरूले अभियान नै सञ्चालन गरिदिनुपर्यो ।”


औद्योगिक र राजनैतिक इतिहास बोकेको विराटनगर पछिल्लो समय पछि परेको बताउँदै मेयर कोइरालाले अब विराटनगरलाई यथास्थितिमा राख्न नदिने उद्घोष गरे । उनले अमेरिकामा बसोबासका क्रममा प्राप्त गरेको ज्ञान, अनुभव र सीपलाई विराटनगरको विकासमा प्रयोग गरिदिन आग्रहसमेत गरे । इजरायलको विकासको उदाहरण दिँदै मेयर कोइरालाले भने, “अहिले इजरायलले जुन विकास गरेको छ, त्यसमा विदेशमा बसोबास गर्ने इजरालीहरूको ठूलो योगदान रहेको छ ।”
बैठकमा सहभागी एनआरएनएहरूले विराटनगरको शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको अमेरिकामा कार्यक्रमको संयोजन गर्ने सोमनाथ घिमिरेले जानकारी दिए ।

आफूले प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विराटनगरको विकासमा प्रयोग गर्न तयार रहेको बैठकमा सहभागीहरूले बताएका थिए ।