एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित एमाले भित्र लोकप्रिय नेताका रुपमा परिचित छन् । २०४८ को निर्वाचनबाट संसदीय यात्रा सुरु गरेदेखि संसद, सरकार, सुकुम्बासी आयोगलगायतमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी लोकप्रिय बन्न सफल भएका हुन । स्थायी कमिटी सदस्य पण्डितसँग घरदैलोका क्रममा विराटनगर १२ मा गरिएको कुराकानीको सारसंक्षेप :
चुनावी अभियान कसरी चलिरहेको छ ।
करिव मोरङ ६ का सवै ठाउँमा पुगीसकेको अवस्था छ । घरदैलो, मतदाता भेटघाट, कोणसभा यस्तै छ । मतदाता भेटघाट, घरदैलो गरिरहँदा मेरा पक्षमा जनताको व्यापक उत्साह छ ।
तपाईका चुनावी एजेण्डा के छन् ? ५ वर्षमा मोरङ ६ का लागि के गर्नुभयो ?
दैनिक जनजीवनसग जोडिएका सवालहरु नै मेरो चुनावी मुद्दा छ । म यस क्षेत्रको सांसद भएपछि गछिया–पुष्पलाल सडकखण्ड ५२ करोड २५ लाख, कोयलपुर–नेमुवा–रानी सडक ४८ करोड, टंकिसिनुवारी खानेपानी आयोजना ४८ करोडको लागतमा धमाधम बनिरहेको छ । चार वटा झोलुङ्गे पुल साढे २२ करोडको लागतमा निर्माण भएको छ । ४० करोडबढी बजेट काम हुन नसक्दा फिर्ता गएको छ । आधुनिक सुविधा सम्पन्न बनाउन विराटनगरको बिरेन्द्रसभा गृहका लागि विनियोजन गरेको ८ करोड बजेट खर्च नहुदा फिर्ता भएकोमा दुःख लागेको छ । नदी नियन्त्रणको काममा लगानी भएको छ । तर विराटनगरको बाढी नियन्त्रणको लागि ठूलो रकमको आवश्यकता भएकाले केसलीया खोलामा करिडर निर्माणका निम्ति ९ अर्ब लाग्ने भएकाले त्यसलाई ड्रिम प्रोजेक्टको रुपमा अघि बढाउने चुनावी मुद्दा छ । खनारदेखि नेता चोकसम्मको मूल नहर सडकखण्डमा कालोपत्रे आयोजना गर्ने योजना छ । इटहरीको तालतलैयादेखि सुन्दरहरैंचाको हसिना समिसार क्षेत्र हु“दै पूर्वाञ्चल विश्वविद्यालय भएर जाने सडकलाई पर्यटकीय मार्गको रुपमा विकास गर्छौं । एमाले सरकारले अघि बढाएको विराटनगर विमानस्थल विस्तारको कामलाई गठबन्धनको सरकारले रोकेको छ । यसलाई चुनाव लगतै बन्ने एमालेको सरकारले संघीय बजेटमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तारको काम अघि बढाउछ । २२ वटा सामुदायिक भवन, १२ वटा विद्यालयको भवन बनेको छ । थप निर्माण गर्ने छौं । सहर, गाउ“ र नगरभित्रका सडकहरुलाई नालासहित कालोपत्रे गर्ने योजनालाई अघि बढाउछौं । जनताको विकास निर्माणको चाहना पूरा गर्न लागिपरेको छु । अघिल्लो कार्यकालमा मोरङ क्षेत्र ६ मा साना ठूला आयोजनामा संघीय सरकारको साढे ५ अर्बभन्दा बजेट ल्याए“ भने अबको कार्यकालमा घटीमा पनि १५ अर्ब बजेट ल्याएर बाकी रहेको कामलाई गति दिन विकासको मुद्दा प्रमुखताका साथ उठाएको छु । राष्ट्रिय रुपमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई केन्द्रित गरेका छौं । सुकुम्बासी र अव्यवस्थित बसोबासीको क्षेत्रमा हामीले कानुन बनाएर काम गर्न खोज्यौं तर सरकार परिवर्तन भएपछि केही अबरोध भएको छ । जनता आवास कार्यक्रमलाई पनि अगाडि बढाएका छौं । तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गत २८ अर्ब ५० करोड लागतमा २२ जिल्लाको विकासको निम्ति काम अगाडि बढाएका छौं । विराटनगरमा आफैले १ सय गरिवको घर बनाउन सिलान्यास गरेको तर बजेटको व्यवस्थापन हुदाहुदै पनि स्थानीयले काम गर्न सकेनन् । त्यसमा अब थप लगानी गरेर अघि बढाउछौं । विराटनगरको सरोचियामा मुस्लिम सामुदायिक केन्द्रको विकासलगायतका काम गरेको र बा“की स्थानीयको आवश्कतालाई ध्यानमा राखेर चुनावी मुद्दा अघि सारेको छु ।
मंसिर ४ गतेको निर्वाचनमा तपाईलाई मतदाताले किन मत हाल्ने ?
मैले देश र मतदाताको शिर ठाडो राख्ने काम गरेको छु । अपराधपूर्ण र दाग लाग्ने कुनै क्रियाकलाप गरेको छैन । विकासमा तुलनात्मक रुपमा अगुवाई गरेको छु । विगतमा दुई/दुई पटक जित्नेहरुले कही ५० लाखको काम गरेको देखिन । तर मैले आधा अर्ब बढीको धेरै वटा आयोजना यस क्षेत्रमा ल्याएको छु । त्यसैले काम गरेको आधारमा विकासको निम्ति, राष्ट्रियताको संरक्षण, सुशासनको सन्दर्भमा रोज्नु पर्ने हो । मैले बंशको आधारमा मेरो बुवा, आमा, काकाकाकीले काम गरेको र मैले नगर्दा पनि बंशको आधारमा यस क्षेत्रमा भोट दिनुपर्ने भनेको छैन । आफूले एमालेको सांसद र मन्त्री भएको बेला गरेको कामको आधारमा जनतालाई विकासको चाहना छ भने मलाई नै भोट दिनुपर्ने हो ।
तपाईंले आफ्नो क्षेत्रमा ल्याएको ४० करोड बढी बजेट फिर्ता गयो किन ?
सांसद विकास कोषको रकम हामी आफैले खर्च गर्न पाईदैन । स्थानीय तहहरु मर्फत खर्च हुने गरेको छ । स्थानीय नेतृत्वको असहयोगको कारणले बजेट ४० करोडभन्दा बढी फिर्ता गएको हो । त्यो मेरा कारणले हैन । मैले वीरेन्द्र सभागृह राष्ट्रिय सभागृह जस्तो बनाउने योजनाका कारण बजेट हाले तर नेतृत्वले कामै नगरी बजेट फिर्ता गरिदियो ।