निर्वाचनपछि मुलुक बनाउन सवै पार्टी एक हुनुपर्छ : डा. कोइराला

विराटनगर २१ फागुन । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा. शेखर कोइरालाले निर्वाचन पछि सवै दल मिलेर देश बनाउनुपर्ने बताउनु भएको छ । देशमा नयाँ र पुरानो पार्टी भन्ने नभएका भन्दै उहाँले सवै दल देश बनाउनका लागि एक हुनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर ७ स्थित आदर्श मावि मतदान केन्द्रमा मत खसालेपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै  डा. कोइरालाले देशमा राजनीतिक, सामाजिक तथा आर्थिक स्थिरता नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ सवै मिलेर देश बनाउनु पर्छ ।’

संविधानमा सुधार आवस्यक भएको उहाँले बताउनुभयो । डा. कोइरालो भन्नुभयो,‘ सवै दलहरु एक भएर संविधानमा सुधार गर्नुपर्छ । अन्य पार्टिले पहल गर्न सक्दैनन । नेपाली कांग्रेस मध्यमार्गी पार्टी भएकाले यस पहल हामी लिन्छौं ।’

निर्वाचनबाट नेपाली कांग्रेस ठुलो पार्टी बन्ने उहाँको दावी छ । निर्वाचनबाट एकल सरकार बन्ने अवस्था नदेखिएको उहाँले बताउनुभयो । म्याजिक नम्वर ल्याउनेले सरकार बनाउँछन् भन्ने प्रश्नमा उहाँले भन्नुभयो,‘ खै उहाँहरुलाई लाग्छ होला मलाई लाग्दैन ।’

निवर्तमान सांसद समेत रहनु भएका डा. कोइराला मोरङ ६ बाट २०६५ को संविधानसभाको उपनिर्वाचन, २०७० को दोश्रो संविधानसभा निर्वाचन र २०७९ को प्रतिनिधिसभा सदस्यमा मोरङ ६ बाट निर्वाचित हुनु भएको थियो । पहिलो संविधानसभा र २०७४ मा उहाँ पराजित हुनु भएको थियो ।