विराटनगर २१ फागुन । मोरङका सवै मतदान केन्द्रमा मतदान शुरु भएको छ । ८८८ वटै मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको मोरङ प्रहरीका प्रमुख एसपी कवित कट्वालले जानकारी दिनुभयो ।
मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।
मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ ।
मोरङमा ३०६ मतदान स्थलमा ८८८ मतदान केन्द्र छन् । जिल्ला कारागार र आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र रहेका छन् ।
निर्वाचन सुरक्षाका लागि मोरङमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।