मोरङमा निर्वाचनको सवै तयारी पुरा (तस्वीरहरु सहित)

विराटनगर २० फागुन । मोरङमा भोलि हुने निर्वाचनको सवै तयारी पुरा भएको छ । ८८८ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र गरि ८९० वटै केन्द्रमा मतदानको सवै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

मतदान सम्पन्न लगत्तै मतगणनाका लागि पनि तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत गुरुङले बताउनुभयो । ६ वटा निर्वाचन क्षेत्रमै मतगणना गर्ने गरि सवै तयारी सकिएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत गुरुङले भन्नुभयो,‘ हामी भोलि विहान ७ वजेको पर्खाइमा छौं ।’

मतगणना शुरु भएको २४ घण्टा भित्रमा प्रत्यक्ष तर्फको गणना सकिने उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत गुरुङका अनुशार क्षेत्र नं १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, ३ को भगवती मावि–बेलबारी, ४ को जनता नमूना मावि, ५ को सुनसरी–मोरङ सिंचाई आयोजना कार्यालय र क्षेत्र नं. ६ को आदर्श मावि विराटनगरमा मतगणना हुने छ । मोरङका प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलले मतदानसँगै मतपेटिका ओसार्ने, मतगणनाको सुरक्षा सवै तयारी गरिएको जानकारी दिनुभयो । मोरङ क्षेत्र नं. १ बाहेकका क्षेत्रका मतपेटिका केही समय भित्रमै मतगणना स्थल पुग्ने उहाँले बताउनुभयो ।

मोरङ क्षेत्र नं. १ का केराबारी–२, मिक्लाजुङ–१ को मतपेटिका मतगणनास्थल उर्लाबारी नगरपालिका ४ घण्टा भित्र पुर्याउने गरि तयारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुशार सवै भन्दा बढी मोरङ ३ को सुकुना क्याम्पसमा १० वटा मतदान केन्द्र छन् ।

मोरङमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी सात हजार ८५१ जना सुरक्षाकर्मी परिचालन भएका छन् । सुरक्षाका दृष्टिले ४७ मतदान केन्द्र अतिसंवेदनशील, १२५ संवेदनशील वर्गीकरण गरिएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सात लाख ८३ हजार ५० मतदाता छन् । ११० उम्मेदवार प्रतिष्पर्धामा छन् ।

विराटनगर १० को संसारीमाईस्थान मतदान स्थल

विराटनगर १० को संसारीमाईस्थान  मतदान स्थल

विराटनगर ९ को आन्तरिक राजश्व कार्यालय मतदान स्थल

मोरङ कानेपोखरीको जनसेवा मावि मतदान स्थल

आदर्श पुस्तकालय अस्थायी मतदान केन्द्र ( राष्ट्र सेवक कर्मचारीका लागि)

मोरङ ६ को मतगणना स्थल ( आदर्शमावि)