मोरङ ५ बाट उपेन्द्र यादव सहित ५ जनाको नाम सिफारिस

विराटनगर, १६ भदौ । जनता समाजवादी पार्टी मोरङले पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम क्षेत्र नम्वर ५ बाट सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिस समितिको आज बसेको बैठकले केन्द्रीय अध्यक्ष यादव सहित मोरङ ५ बाट प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र नन्है मियाँको नाम सिफारिस गरिएको जसपा मोरङका कार्यकारिणी सदस्य दिलिप चौधरीले जानकारी दिनुभयो ।

सिफारिस समितिको बैठकले क्षेत्र नम्वर ५ (क) मा पन्नालाल मण्डल, प्रमोद शर्मा र प्रकाश मण्डल गनगाई र प्रदेश (ख) मा जयराम यादव, अमृत महतो, दिनेश साह र मन्तलाल यादवको नाम सिफारिस गरेको चौधरीले जानकारी दिनुभयो ।

सत्तारुढ गठबन्धनमा आबद्ध जसपाले मोरङ क्षेत्र नम्वर ५ मा दावी गर्दै आएको छ । प्रतिनिधिसभामा सिफारिस भएका केन्द्रीय अध्यक्ष यादव सो क्षेत्रबाट २०६४ को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रदेश १ का स्वास्थ्य मन्त्री यादव सोही क्षेत्रबाट उपनिर्वाचनमा निर्वाचित भएका थिए । मन्त्री यादव २०७४ को प्रदेशसभा निर्वाचनमा ५ (ख) बाट निर्वाचित सांसद हुनुहुन्छ ।