विराटनगर २० माघ । विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरुका लागि स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम गरेको छ ।
विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा, मोरङसँगको सहकार्यमा आयोजित कार्यक्रममा १८ जना महिला पत्रकारहरुले सेवा लिएका छन् । ‘भिआईए’ स्क्रिनिङ तथा स्तन परीक्षणका क्रममा समस्या देखिएकाहरुको विराट मेडिकल कलेजमा थप उपचार हुने पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले बताउनुभयो । अध्यक्ष पाठकले पत्रकारको स्वास्थ्य परीक्षण नियमित हुनेगरिको व्यवस्था महासंघले मिलाउने बताउनुभयो ।
स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा.बबिता साह लगायतको टोलीले सेवा दिएका थिए ।
स्वास्थ्य शिविरसँगै क्यान्सर सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले गर्नुभएको थियो । उहाँले महिलामा पाठेघर भन्दा स्तन क्यान्सरका विरामीको संख्या बढ्दो रहेको बताउनुभयो ।
महिला र पुरुषहरुमा मुख, नाक, घाँटी, बालबालिकामा ब्लड र १८–२० वर्ष उमेर समूहका व्यक्तिहरुमा हड्डीको क्यान्सर बढी हुने गरेको देखिएको उहाँले बताउनुभयो । पुरुषमा पनि स्तन क्यान्सरका विरामी देखिन थालेको उहाँले बताउनुभयो । नियमित स्वास्थ्य परीक्षण गर्ने र शुरुमै रोग पहिचान भए उपचार संभव हुने डा. रायमाझीले बताउनुभयो ।
क्यान्सर सचेतना कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापा लगायतले नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो ।
