धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट- २०२६’ हुने

विराटनगर ११ माघ । कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ।

धरानस्थित गल्फ कोर्समा १२० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरू (महिला, पुरुष, भेट्रान)को सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो।

प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले संघले गल्फ खेलको दीर्घकालीन विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले स्थापना कालदेखि नै गल्फ खेलको प्रवर्द्धन गर्दै आएको संघले एमेच्योर तथा व्यावसायिक दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च तथा विकासका अवसरहरू प्रदान गर्दै आएकोमा यस प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा थप भूमिका खेल्ने विश्वास लिएको बताउनु भयो।

प्रतियोगिताको प्रमुख सम्झेदार चिभास रिगलले विगतका वर्षहरूमा चिभास रिगलले नेपालमा विशेषगरी काठमाडौँमा आयोजना हुने प्रिमियम गल्फ प्रतियोगिताहरूलाई निरन्तर सहयोग गर्दै आएकोमा अब राजधानी बाहिरका क्षेत्रहरूमा पनि गल्फ खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कोशी प्रदेश गल्फ संघ सँग सहकार्य गरेको जनाएको छ।

चिभास रिगलका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराईले चिभास रिगलको नेपालमा गल्फ खेलसँग पुरानो सम्बन्ध रहेको स्मरण गर्दै पूर्वी क्षेत्रमा गल्फ खेलको विकास र लोकप्रियतामा सार्थक योगदान दिने लक्ष्यसाथ संघसँग सहकार्य गरेको बताउनु भयो।

उहाँले काठमाडौँ बाहिर गल्फ खेल विस्तार गर्नु आगामी दिनहरूमा मुख्य प्राथमिकता रहने पनि स्पष्ट पार्नु भयो।

प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा इटहरी पशुपति मार्गमा भर्खर संचालनमा आएको होटल रामाडा रहेको छ भने सह-आयोजकमा धरान गल्फ क्लब रहेको छ।