विराटनगर ७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूविरूद्ध दाबीरविरोध परेको छ ।
निर्वाचन आयोगका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रेशम चौधरीलगायत उम्मेदवारविरुद्ध उजुरी परेको छ । नेकपा नेता एवं पूर्वप्रधानमन्त्री नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गरिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालका कैलाली–१ का उम्मेदवार भएका रेशमलाल चौधरीविरूद्ध पनि उजुरी दर्ता भएको छ ।
उनी टिकापुर हत्याकान्डमा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । तर, उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर छुटाइएको हो । त्यस्तै, सुनसरी–२ बाट रास्वपा उम्मेदवार लालबिक्रम थापा, भक्तपुर–२ बाट रास्वपा उम्मेदवार राजीव खत्री, भक्तपुर–२ बाटै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार भएकी जानुका पाठकविरूद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ ।
सूचना अधिकारी सुमन घिमिरेले आज १० बजेदेखि ३ बजेसम्म उजुरी दर्ताको समय तोकिएकोमा उक्त अवधिमा भक्तपुरमा २, रौतहटमा १ र सुनसरीमा १ र कैलालीमा १ उजुरी परेको बताए । भोलिसम्ममा उजुरीउपर छानबिन टुंग्याइने उहाँले बताउनुभयो ।