विराटनगर २९ पुस । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वाेच्च अदालत पुगेर निर्वाचन कार्यतालिका र माघ ६ गतेदेखि सुरु हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ता लगायतका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका हुन्।
रिट निवेदनमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । निवेदकले संसद् विघटनको वैधानिकतालाई लिएर यसअघि नै दायर भएका रिटहरू सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा निर्वाचनका कार्यक्रम अगाडि बढाउनु न्यायसंगत नहुने जिकिर गरेका छन्।
विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै रिटमा उक्त प्रक्रिया तत्काल रोक्न माग गरिएको छ ।
अधिवक्ता पौडेलले सर्वाेच्च अदालतबाट संसद् विघटन सम्बन्धी मुद्दाको अन्तिम फैसला नभएसम्म निर्वाचन सम्बन्धी कुनै पनि कार्य अघि बढाउनु संविधान र कानुनको भावना विपरीत हुने उल्लेख गरेका छन ।