हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने महानगरको निर्णय

विराटनगर, ४ भदौ । विराटनगर महानगरपालिकाले प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई विशेष अभियान सञ्चालन गरिने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । आज बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उहाँको भनाइ थियो । मन्दिर, मज्जिद र सार्वजनिकस्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको उनको भनाइ थियो ।

जनताले महसुस गर्ने गरी महानगरले काम गरिरहेको उनको दाबी थियो । उपमेयर शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको सुनाउनुभयो । महानगरले सुरु गर्ने सरसफाई विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन कार्कीले आग्रह गर्नुभयो । कम्तीमा हरेकले आफ्नो घर र पसल अगाडि फोहोर नगर्ने हो भने महानगर त्यतिकै सुन्दर र सफा हुने कार्कीको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतका अनुसार विशेष समारोह गरेर आगामी हप्तादेखि नै महानगर सफाई अभियान सञ्चालन गरिनेछ । यसैबीच, रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाई गरिएको छ ।

महानगरका मेयर कोइरालाको नेतृत्वमा तीनपैनीदेखि सफाई गरिएको थियो । सरसफाईमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, वडानम्बर १ का वडाध्यक्ष काजी बस्नेत, २ नम्बर वडाका अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।