विराटनगर २३ पुस । एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार सुनील थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । ‘एक जनाको मात्रै मनोनयन परेकाले उहाँ निर्विरोध हुनु भएको छ,’ निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले भन्नुभयो,‘प्रक्रिया पूरा गरेर केही समयपछि आधिकारिक घोषणा गर्छाै ।’
नेकपाले अन्यतर्फ उम्मेदवार बनाएका संखुवासभाका हेमराज घिमिरे मनोनयन दर्तामा अनुपस्थित भएपछि थापा निर्विरोध हुनु भएको हो । थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकमा रेगिना भट्टराई रहनु भएको छ । गठबन्धनका तर्फबाट एमालेले दुई र कांग्रेसले एक सिटमा उम्मेदवारी दिएका छन । एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन । उम्मेदवार रोशनी मेचेको प्रस्तावकमा शोभा चेम्जोङ र समर्थकमा सृजना राई रहनु भएको छ ।
सोम पोर्तेलको प्रस्तावकमा एकराज कार्की र समर्थकमा छवि चुडाल रहनु भएको छ । नेकपाबाट दलिततर्फ मोरङका खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गराउनु भएको छ । न्यौपानेको प्रस्तावकमा गणेश उप्रेती र समर्थकमा गीता तिम्सिना रहनु भएको छ । सुन्दासको प्रस्तावकमा सपना दर्जी र समर्थक नमोनारायण माझी रहनु भएको छ ।
राष्ट्रिय सभाका रिक्त १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । यो निर्वाचनमा कोशी प्रदेशबाट ३ जना सदस्य निर्वाचित हुनेछन । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ , एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ , जसपा नेपाल र राप्रपाका ४र४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ , राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् । कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ ।