समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ दलकै बन्दसूची मिलेन

विराटनगर २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलकै बन्दसूची नमिलेको पाइएको छ ।

निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते गरी दुई दिनको समय सीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी पेस गरेको बन्दसूची सबैको नमिलेको पाइएको हो ।

शीर्ष दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायत ६४ वटै दलले पेस गरेको बन्दसूचीमा कुनैको केही नमिलेको त कुनैको केही नमिलेको जाँचबुझमा संलग्न एक उच्च अधिकारीले बताए । उनका अनुसार जाँचबुझपछि सबै दललाई सच्याएर तथा संशोधन गरेर बन्दसूची पेस गर्नका लागि आइतबार साँझसम्म पत्राचार गरिसकिएको छ ।

निर्वाचन आयोगका अनुसार ६४ दलले ५८ वटा निर्वाचन चिन्हमा भाग लिने गरी समानुपातिकतर्फ ३ हजार ४२४ जना उम्मेदवारको नामावली बन्दसूचीमा पेस गरेका छन् । बन्दसूची पेस गर्ने ६ वटा दलले न्यूनतम ११ जना बन्दसूची पेस गर्नुपर्ने व्यवस्था अनुसार ११ जना मात्रै बन्दसूचीमा पेस गरेका छन् ।

बन्दसूची पेस गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ ।