विराटनगर २० पुस । आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यहरु मध्ये १८ पदका लागि निर्वाचन हुँदैछ । एक सदस्य मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुनेछन् ।
१८ सदस्य मध्ये कोशी प्रदेशका ३ जना छन् । कोशी प्रदेशमा एमालेका दुई सदस्य देवेन्द्र दाहाल (झापा), इन्दिरादेवी गौतम (सुनसरी), माओवादी केन्द्रका एक सदस्य गोपी आछामी सार्की (मोरङ) रहेका छन् ।
मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।
आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् ।
कस्को मतभार कति ?
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ ( उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७), जसपा नेपाल र राप्रपाका ४/४, श्रम संस्कृति पार्टी १ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ ( तत्कालिन माओवादी १३ र नेकपा एस ४), राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् ।
कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार ३ हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको १ हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ ।
राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ राजनीतक दल दर्ता भएका छन् ।