सर्वपक्षीय सरकारको सम्भावना छैन : प्रचण्ड

विराटनगर १९ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताउनु भएको छ ।

प्रेस सेन्टरले आज संखुवासभा सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताउनुभयो ।

निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उहाँको भनाइ थियो । जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्काे सरकार पुनर्गठन नहुने दाबी पनि गर्नुभयो ।

काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन गराउन सक्षम रहेको बताउनुभयो । ‘संविधानसभाबाट संविधान बनाउँदै गर्दा नै हामीले वाचा गरेका थियौँ, १० वर्षपछि संविधानको समीक्षा गरी संविधानमा भएका सकारात्मक र नकारात्मकका आधारमा संविधान संशोधन र परिमार्जन गर्नेछौँ’, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनको मर्मभावनाअनुसार अहिलेका राजनीतिक दलहरुले नयाँ जनादेशमा जानुपर्ने आवश्यकता भएको उहाँको भनाइ छ । निर्वाचनको प्रक्रिया सुरु भइसकेको संसद् पुनःस्थापना नहुने र अहिले भएकै सरकारले निर्वाचन सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।