विराटनगर, १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बुधबार देखि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।
बुधबार मोरङ जिल्ला अदालतका मुख्य न्यायाधिस भिष्मराज प्रसाईले निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नु भएको हो ।
कार्यालयको उद्घाटन गर्दै मुख्य न्यायाधिस प्रसाईले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमको जानकारी गराउनु भयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशमै रहने निर्वाचन निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयाे ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम अनुुुसार २०८२ पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ भने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरी माथि छानविन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
पुस २३ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते विहान १० बजेदेखि दिउँसो १ वजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने छ ।
माघ ११ गते विहान ९ वजेदेखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम रहेकाे छ ।
कोशी प्रदेशमा महिला तर्फ एक, दलित तर्फ एक र अन्य तर्फ एकजनाको राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने छ ।