विराटनगर १३ पुस । विराटननगरमा जारी विराट ट्रेड एक्स्पोमा आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।
छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनबाट जनस्तरसम्म लाभ र्पुयाउन सकिने बताउनुभयो ।
पर्यटन सेवामूलक उद्योग भएकाले यसमा मानव जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने उहाँले स्पष्ट पार्नुभयो । नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको उल्लेख गर्दै खनालले आन्तरिक पर्यटन, उत्सव–महोत्सव प्रवद्र्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको बताउनुभयो ।
कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविशकुमार श्रेष्ठले प्रस्तुति दिनुभयो । उहाँले कोशी प्रदेशको आधार नै पर्यटन भएको भन्दै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझै धेरै अवसर सिर्जना गर्न सकिने बताउनुभयो । विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्मको हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन क्षेत्र चलायमान गराउन टेवा पुग्ने उहाँको भनाइ थियो ।
कोशी प्रदेश पर्यटनसम्बन्धी प्यानल छलफलको सहजीकरण कृष्ण साहले गर्नुभएको थियो । होटेल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि गेटवेका रूपमा विकास गर्न सकिने भन्दै पदयात्रा, साहसिक पर्यटन र होटेल उद्योगमा युवालाई जोड्नुपर्ने धारणा राख्नुभयो । श्रेष्ठले कोशी प्रदेशमा समेत ठूलाठूला होटेल निर्माण हुने क्रम बढेको जानकारी दिनुभयो ।
प्यानलमा कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, होटेल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव आकाश दुलाल र आईएसएमटी कलेजकी श्रृजा पोखरेल सहभागी हुनुभएको थियो ।