निर्वाचनका लागि राजनीतिक सहमति हुन सकेन : नेता भुषाल

विराटनगर १२ पुस । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्व मन्त्री घनश्याम भुषालले निर्वाचनका लागि राजनीतिक सहमति हुन नसकेको बताउनु भएको छ । निर्वाचन सवैले चाहेको भएपनि राजनीतिक सहमति विना निर्वाचन संभव नभएको उहाँको भनाई छ ।

निर्वाचनका लागि वातावरण बन्दै गएपनि राजनीतिक सहमति हुन नसकेको उहाँले बताउनुभयो । निर्वाचनले मात्रै मुलुक र संविधानलाई ट्रयाकमा ल्याउने उहाँको भनाई छ ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भुषालले नयाँ राजनीतिक दल र तिनका नेताहरु विचारहीन भएको टिप्पणी गर्नुभयो । उनीहरुमा पद, व्यक्ति र सिट बाहेक राष्ट्रविकासको कुनै एजेन्डा नभएको उहाँले बताउनुभयो ।

नेता भुषालले भन्नुभयो,‘ उनीहरु कम्पास विहिन जहाज चलाउन खोजेका छन् ।’ नयाँ राजनीतिक दलका नेताहरु पुराना नेताहरुको दोश्रो संस्करण भएको उहाँले बताउनुभयो ।

नेता भुषालले जेनजीको भावना ‘हाईज्याक’ भएको बताउनुभयो । जेनजी आन्दोलनपछि मुलकलाई बर्बादी पार्नेहरुले नेतृत्व छाड्नुको साटो धमाधम फर्किएकाले जेनजीको भावना हाईज्याक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘जेनजी आन्दोलनले पार्टीहरुमा सुधार हुने अपेक्षा थियो । त्यो हुन सकेन । जसले हिजो बर्बाद गरे उनीहरुनै नेतृत्वमा फर्कदै छन् ।’

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले नेतृत्व छाडे कम्युनिष्टहरु एक हुने उहाँँको दावी छ । ओली र प्रचण्डले नेतृत्व विगारेको भन्दै उहाँले भन्नुभयो,‘ नयाँको आवस्यकता नै थिएन । पुराना लिडरसीपका कारण नयाँको खोजी भएको हो ।’ दुई जनाले छाडेका दिन कम्युनिष्टहरु एक हुने उहाँले बताउनुभयो ।

नेता भुषाल नेकपा संयुक्तको आज विराटनगरमा आयोजित कोशी प्रदेश स्तरिय विस्तारित भेलामा सुहभागी हुन आउनु भएको हो ।