विराटनगर ११ पुस । नेपाल पत्रकार महासंघ मोरङले आज आयोजनाको गरेको स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएका छन् । विराट नर्सिङ होमको प्राविधिक सहयोगमा महासंघले मुटु, आँखा र कान संवन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो ।
स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरुमा उच्चरक्तचाप, आँखाको समस्या बढी पाईएको चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य शिविरमा ७ जना विशेषज्ञ चिकित्सकहरु सहित १४ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएका थिए ।
स्वास्थ्य समस्या भएका पत्रकारहरुहरुले ओपीडी कार्ड सहित ७ दिन भित्र अस्पतालमा सम्पर्क राख्न भनिएको छ । स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारहरुले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । समस्यापरे पछि मात्रै अस्पताल पुग्ने भन्दा पनि नियमित स्वास्थ्य परीक्षण गर्न उहाँको आग्रह छ ।
महासंघ केन्द्रीय समितिले पनि पत्रकारको स्वास्थ्य परीक्षण नियमित गर्नेगरिको कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सिईयो) निकिता कार्कीले समाचार संकलनमा दिनरात खटिने पत्रकारहरुले स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । स्वास्थ्य सुरक्षामा ध्यान दिन उहाँको सुझाव छ । पत्रकार महासंघसँग सहकार्य गरि पत्रकारको नियमित स्वास्थ्यमा सहयोग गर्न अस्पताल तयार रहेको उहाँले बताउनुभयो ।
रक्तचापको परीक्षण दैनिक गर्न समेत उहाँले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार पूर्व अध्यक्ष बन्धु पोखरेलले स्वास्थ्य परीक्षणको कार्यक्रम नियमित गर्न सुझाव दिनुभयो । उहाँले आफ्नो कार्यकालदेखि मोरङमा पत्रकारको स्वास्थ्य उपचारमा अस्पतालहरुसँग सहकार्य शुरु भएको बताउनुभयो । स्वास्थ्यसँगै शिक्षामा पनि प्याव्सन/हिसानसँग सहकार्य गर्न उहाँको सुझाव छ ।
नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले पत्रकारको स्वास्थ्यलाई केन्द्रीत गरि स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । महासंघले स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य संवन्धी अभिमुखीकरणका कार्यक्रमहरु पनि नियमित गर्ने बताउनुभयो ।


