मन्त्रालयका लागि विनियोजित वजेटप्रति मन्त्री राईको असन्तुष्टि

विराटनगर ११ पुस । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले आफ्नो मन्त्रालयका लागि विनियोजित वजेटप्रति असन्तुष्टी व्यक्त गर्नु भएको छ । कार्यक्षेत्र ठुलो भएको मन्त्रालयका लागि कूल वजेटको तीन प्रतिशत पनि विनियोजन नभएको भन्दै असन्तुष्टी व्यक्त गर्नु भएको हो ।

पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघ विराटनगरले आज आयोजना गरेको कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो ।

सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र ठुलो भएकाले कूल वजेटको १० प्रतिशत विनियोजन हुनुपर्ने बताउनुभयो ।
मन्त्री राईले पुस्तान्तरण कार्यक्रमका लागि तीनै तहको सरकारले आवस्यक वजेट तथा कार्यक्रम समावेश गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ पुस्तान्तरणको कार्यक्रम हुन सकेको छैन । तीनै तहको सरकारले यो कार्यक्रम गर्न आवस्यक छ ।’

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो । जेष्ठ नागरिकको कोशी प्रदेशको भवन निर्माणका लागि आगामी वर्षमा वजेट विनियोजन गर्ने मन्त्री राईले प्रतिबद्धता जनाउनुभयो ।

कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मणि अज्र्यालले प्रदेशको भवन निर्माणका लागि विराटनगर १ मा जमिन उपलब्ध भएपनि वजेट अभावमा भवन निर्माण हुन नसकेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको भवन निर्माणमा सहयोग गर्न प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो ।

पुस्तान्तरण कार्यक्रमका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आवस्यक वजेट विनियोजन गर्न नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले जेष्ठ नागरिक संवन्धि कानुनी प्रावधान लगायतबारे र अधिकारकर्मी देवी बाँस्कोटाले ज्येष्ठ नागरिकका लागि सञ्चालित दिवा केन्द्रबारे प्रस्तुती गर्नु भएको थियो ।