विराट एक्स्पो शुरु

विराटनगर, ९ पुस । अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारको क्षेत्रमा लगानी अभिवृद्धि गराउन सरकार अनुकुल वातावरण बनाईरहेको बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघद्वारा आयोजित १० दिने ‘विराट ट्रेड एक्स्पो–२०२५’ को आज उद्धाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री खनालले करदाताको लागत र समय कम गराउन स्थानीय तहमा कर सेवा प्रणाली स्थापना गर्ने कार्य अन्तर्गत आज मोरङको केराबारीमा सो कार्यालय स्थापना भएको जानकारी दिँदै निजी क्षेत्रको सहयोगबिना मुलुकमा समृद्धि नआउने कुरामा जोड दिनुभयो । उहाँले आयातमा देखिएका समस्या निराकरण गर्न सरकार तत्पर छ भन्दै व्यसायीलाई विश्वास गर्न सकेमा राजस्व वृद्धि हुने स्पष्ट पार्नुभयो । उहाँले संसदको अनुपस्थितिमा कानुन निर्माण गरे लोकतन्त्र बलियो नहुने धारणा राख्दै सरकारले कम समयमै सुशासन र भ्रष्टाचार नियन्त्रणको धेरै काम गरिरहेको बताउनुभयो । उहाँले जेन्जी आन्दोलनको क्रममा मुलुकमा रु ८४ अर्बको नोक्सानी भएको भन्दै भदौको जस्तो घटना दोहरिन नदिन नागरिक सचेत हुनु पर्ने भनाई राख्नुभयो । मन्त्री खनालले सरकारले घोषणा गरेको निर्वाचन तोकिएकै समयमा हुने र यसमा शंका नगर्न आग्रह गर्दै सरकार भयरहित, निश्पक्ष, सुरक्षित वातावरणमा निर्वाचन सम्पत्र गर्ने दावी गर्नुभयो ।

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको निकै महत्व रहेको बताउनु भयो । उहाँले धार्मिक पर्यटक भित्र्याउन संघीय सरकारले महत्वपूर्ण धार्मिक स्थलका लागि पूर्वाधार निर्माण गर्नु पर्ने जिकिर गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराट एक्स्पोले आर्थिक विकास र उद्यशीलताको विकासमा मद्दत गर्ने बताउनुभयो ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा भएको सो कार्यक्रममा एक्स्पोका संयोजक अमितकुमार सारडा र मोरङ व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजालले पनि बोल्नुभएको थियो ।