कोशी प्रदेशमा एक पालिका, एक सामुदायिक बीउ बैंकको व्यवस्था गर्न जोड

विराटनगर ९ पुस । कोशी प्रदेशमा एक पालिका, एक सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाहरुको जोड दिएका छन् । स्थानीय र रैथाने जातका बीउहरुको संरक्षणका लागि हरेक स्थानीय तहहरुमा बीउ बैंक आवस्यक भएको उनीहरुको भनाई छ ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–वर्ड) पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा सामुदायिक विउ बैंक संघ नेपाल, कावासोती नवलपरासीले आज विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशमा सामुदायिक बिउ बैंक ः वर्तमान अवस्था र विस्तारको आवस्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सो जोड दिएका हुन ।

कार्यक्रममा सामुदायिक विउ बैंक संघ नेपालका कार्यक्रम सल्लाहकार पीताम्वर श्रेष्ठले बीउ बैंक वर्तमान र भविष्यको खाद्य सुरक्षा, पोषण, पर्यावरण, कृषि अनुसन्धान र विकासको आधार भएको बताउनुभयो । समुदाय तथा सरोकारवाला निकायहरूमा चेतनाको अभाव, समुदायमा सरकारी, गैरसरकारी र निजी क्षेत्रद्वारा सञ्चालित गतिविधिहरूका कारणले, स्थानीय बाली विविधता संरक्षण, उपयोग तथा प्रवद्र्धन सम्बन्धी कार्यक्रमको अभाव भएको उहाँले बताउनुभयो । उहाँका अनुशार बसाइँसराइँ, प्राकृतिक विपत लगायतका कारणहरूले स्थानीय बाली विविधता दु्रत गतिमा लोप भइरहेका छन ।

विगत लामो समय देखि सामुदायिक बीउ बैंक सम्वन्धि काममा गैरसरकारी संघ संस्थाहरूको संलग्नता बढी देखिए पनि यसले गति लिन नसकेको उहाँले बताउनुभयो । रैथाने र स्थानीय विउ संरक्षणका लागि तीन तहकै सरकार मातहतका निकायहरूको साझा प्रयास अपरिहार्य रहेको श्रेष्ठले बताउनुभयो । उहाँले रैथाने र स्थानीय जातबारे सरकारसँग कुनै तथ्याङ्क नभएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ जंगली जनावरको तथ्याङ्क सरकारसँग छ । रैथाने र स्थानीय बीउबारे तथ्याङ्क छैन । सरकारले यसमा विभेदको नीति लिएको छ ।’

कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले स्थानीय र रैथाने जातको बीउ संरक्षणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । बीउँ संरक्षणका लागि इच्छुक स्थानीय तहसँगको सहकार्यमा प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि नीति तथा कार्यक्रममा समेट्न सकिने बताउनुभयो । निमित्त सचिव पोखरेलले भन्नुभयो,‘ कार्यक्रममा सवै स्थानीय तहहरुलाई एकै पटक समेट्न सकिदैन, पालैपालो संरक्षण अभियान चलाउन आवस्यक छ ।’ विभिन्न कार्यक्रमहरुमा स्थानीय उत्पादनबाट बनेका परिकारहरुलाई खाजाका रुपमा प्रयोग गरि प्रबद्र्धन गर्नुपर्नेमा उहाँको जोड छ ।

सामुदायिक बीउ बैंक संघ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आ.व. मा प्रदेशको पहलमा कोशी प्रदेशका जिल्लाहरूमा विउ संरक्षणका लागि समावेश गर्न सकिने सम्भावनाको खोजी र मुलप्रवाहिकरण तथा विस्तारको मार्ग पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक प्रकाश डाँगीले कोशी प्रदेशमा कृषि जैविक विविधता, उपयोग तथा प्रबद्र्धनकका लागि सामुदायीक बीउँ बैंक, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि विभागका अमृत रेग्मीले कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण सम्वन्धी नीति तथा कार्यक्रमहरु र राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत प्रदिप थापाले कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरणमा राष्ट्रिय जीन बैंकबारे प्रस्तुती दिनुभएको थियो

कोशी प्रदेशका सामुदायिक बीउ बैंकहरुको बर्तमान अवस्था, असल अभ्यास र सिकाईबारे मोरङ, झापा, संखुवासभा र भोजपुरका प्रतिनिधिहरुले बीउ बैंकहरुले गरिरहेको कामबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुख, प्रतिनिधिहरु, कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले स्थानीय तथा रैथान जातको बीउ प्रबद्र्धनका लागि किसानहरुलाई सहुलियत प्रदान गर्दै आएको बताएका थिए ।

कोशी प्रदेशमा सामुदायिक बीउ बैंकहरुको संख्या ४ वटा छ । चारपाते बीउँ बैक मोरङ, शिवगञ्ज सामुदायिक बीउ बैंक झापा, तामाफोक सामुदायिक बीउ बैंक, संखुवासभा र षडानन्द बीउ बैंक भोजपुर रहेका छन् ।