मोरङमा ४७ मतदान स्थल अतिसंवेदनशील

विराटनगर, ५ पुस । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारित मतदान स्थल मोरङमा ४७ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको पाईएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार १ सय २५ वटा मतदान स्थललाई संवेदनशील र १३४ मतदान स्थललाई सामान्य अवस्थाको रुपमा रहेको भनि पहिचान गरिएको छ ।

विशेष गरेर भारतसँग सीमा जोडिएका पालिका भित्र रहेका र बढी मतदाता रहेका मतदान स्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील र संवेदनशील मतदान स्थलको रुपमा पहिचान गरेको हो ।

जिल्ला सुरक्षा समिति मोरङका एक सदस्यका अनुसार विराटनगर महानगर पालिकाको वडा नं १० र ११ भित्र रहेका मतदान स्थल, जहदा र धनपालथान गाउँपालिका, रंगेली नगरपालिकाको वडा नं ४, ५ ,६ र ७ सुनवर्षी नगरपालिकाका वडा नं ६, ७, ८ र ९ मतदान तथा रतुवामाई नगरपालिकाको वडा नं १ देखि वडा नं ५ सम्म रहेका मतदान स्थलहरुलाई अतिसंवेदनशील मतदान स्थलको रुपमा पहिचान गरिएको छ ।

विराटनगर महानगरपालिकाकै उत्तरी क्षेत्र, सुनवर्षी, रङ्गेली र रतुवामाई नगरपालिकाको उत्तरी क्षेत्र, बुढीगँगा, ग्रामथान, तथा पूर्व पश्चिम राजमार्ग क्षेत्रका बढी मतदाता भएका वडाहरुलाई संवेदनशील मतदान स्थलको रुपमा पहिचान गर्रिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

आगामी निर्वाचनका लागि पनि गत २०७९ सालमा सम्पन्न निर्वाचको मतदान स्थलहरुलाई नै यथावत राखिएको प्रदेश निर्वाचन कार्यालय कोशीका निमित्त प्रमुख चोलाराज दंगालले बताउनुभयो ।

मोरङको बेलबारी नगरपालिका वडा नं १ वराडाँगी स्थित जनएकता आधारभूत विद्यालयमा रहेको मतदान स्थललाईसारेर वडा कार्यालयमा कायम गरिएको छ । विद्यालय जङ्गलको छेउमा रहेकाले हात्ती आतङ्कको समस्या देखिएकाले सुरक्षाको सम्बेदनसिलता र मतदाताको अनुकुलतालाई हेरेर मतदान केन्द्र वडा नं १ को वडा कार्यालयमा सारिएको निमित्त प्रमुख दंगालले बताउनुभो ।

मतदान स्थलको सङ्ख्या र स्थान पुरानै कायम भएपनि मतदाताको बृद्धिको आधारमा मतदान केन्द्रहरु भने बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

२०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनमा मोरङमा ८ सय ६९ वटा मतदान केन्द्र थिए ।