मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा नेपाल र भारतवीच समन्वय राम्रो : सुरक्षा अधिकारी

विराटनगर ४ पुस । मानव बेचविखनमा परेकाहरुको उद्धार तथा अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिने कार्यमा नेपाल र भारतीय प्रहरीवीच समन्वय राम्रो भएको दुवै देशका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना तथा माइती नेपालको सहकार्यमा आज विराटनगरमा आयोजित अन्र्तराष्ट्रिय कार्यशालामा सहभागी सुरक्षा अधिकारीहरुले सीमापार हुने मानव बेचविखन तथा ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिएर एक अर्का देशमा जिम्मा लगाउने कार्यमा दुवै देशवीच राम्रो समन्वय भएको सुरक्षा अधिकारीहरुको भनाई छ ।

दिल्ली प्रहरीका डा.राकेश कुमारले मानव बेचविखन तथा ओसारपसार विश्वकै समस्या भएको बताउनुभयो । उहाँले विश्वमा करिव ५ करोड व्यक्ति मानव वेचविखनको शिकार बनेको बताउनुभयो । उहाँले सीमापार हुने मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि नेपाल र भारतवीच भएको छलफल कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँले एउटै बालबालिका पटक–पटक उद्धार गर्नुपर्ने घटना हुनु दुःखत भएको बताउनुभयो ।

नेपाल प्रहरी मानव बेचविखन तथा अनुसन्धान व्युरोका बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कृष्ण पंगेनीले भारतीय प्रहरीले मानव बेचविखनमा परेकाहरुको उद्धारमा राम्रो सहयोग गरेको बताउनुभयो । उहाँले मानव बेचविखनमा परेकाहरुको उद्धार तथा अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिने कार्यमा समन्वय राम्रो भएको बताउनुभयो ।

सीमा सुरक्षा वल (एसएसबी) बथनाह भारतका संजीव कुमारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा नेपाल प्रहरी, गैरसरकारी संस्थाहरुसँग नियमित बैठक हुने गरेको बताउनुभयो । अपराध नियन्त्रणमा पुरा सहयोग हुने गरेको बताउनुभयो ।

साईबर ब्युरो काठमाण्डौंका सुरज बरालले भारतसँगको समन्वय विना नेपालमा अपराध गरि भारत तर्फ फरार भएकाहरुलाई नियन्त्रण गर्न कठीनाई हुने बताउनुभयो । मोरङ प्रहरीका प्रमुख एसपी कवित कट्वालले मानवबेचविखनमा संलग्न गिरोहले प्रलोभनमा पारि खुशी बनाएर सीमापार गराउने घटना बढेको बताउनुभयो । प्रलोभनमा परि गएकाहरुलाई समयमै उद्धारमा कठिनाई हुने बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुगमन गरि कारवाहीका लागि स्पष्ट अधिकार दिनुपर्ने बताउनुभयो । नेपाल सरकारका पूर्व सहसचिव रत्नकाजी बज्राचार्यले मानवबेचविखन तथा ओसारपसार नियन्त्रणका लागि आवस्यक मात्रामा बजेट विनियोजन हुन नसकेको बताउनुभयो । उहाँले मानव वेचविखनको सञ्जाल भत्कन नसकेको बताउनुभयो ।

कानुनको छिद्र प्रयोग गरेर मानव वेचविखन भईरहेको बताउनुभयो । उहाँले अनुसन्धान गर्ने निकायको हात दर्हो हुन नसकेको भन्दै गुनासो गर्नुभयो । नेपाल–भारत सीमापार हुने मानव बेचविखन तथा ओसारपसार र शोषणमा देखिएको प्रबृत्ति र स्वरुपबारे दुईदिने अन्तराष्ट्रिय कार्यशालाको नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री श्रद्धा श्रेष्ठले विहीबार शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठ, माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, नेपाल र भारतका सुरक्षा अधिकारीहरु, मानव वेचविखन तथा ओसारपसार नियन्त्रणमा क्रियाशिल भारत तथा नेपालका विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।