विराटनगर ५ पुस । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५० वर्षदेखि सक्रिय गुरु बराल पछिल्लो समय जनअनुमाेदित र पार्टीकाे आन्तरिक प्रतिष्पर्धामा ब्याक टु ब्याक पराजित हुँदै आएका छन् ।
संविधान सभाका दुवै निर्वाचन र २०७८ काे राष्ट्रिय सभामा पराजित हुँदै आएका बराल ३२ वर्षपछि एमाले केन्द्रीय कमिटीबाट पनि पाखा लागेका छन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधनपछि २०८१ साउन १७ मा एमाले उपाध्यक्ष मनाेनित भए । उपाध्यक्ष हुनुअघि बागमती प्रदेश इन्चार्ज थिए ।
११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा बराल पराजित भए । उनले एमाले उपाध्यक्ष मात्रै गुमाएनन् । केन्द्रीय सदस्यमा पनि पराजित भए ।
अध्यक्ष केपी ओलीले उपाध्यक्षमा उम्मेदवार बनाएर न्याय गरेपनि नेता कार्यकर्ताकाे परीक्षणमा उनी सफल हुन सकेनन् ।
पार्टी भूमिगत अवस्थामा ०४४ सालमा नेकपा माले मोरङको सचिव भएका उनी त्यसपछि लगातार पार्टी कमिटीमा थिए।
०४६ सालको जनआन्दोलनपछि नेता बराल पुनः मोरङको सचिव बने। उनी ०४६ देखि ०५० सम्म एमाले मोरङको सचिव बने।
२०४९ देखि २०७८ सम्म लगातार पार्टी केन्द्रीय सदस्य भएका बराल चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्य बने।
पछिल्ला २६ वर्षमा बरालले ५ पटक टिकट पाए। एक पटक उनले चुनाव जिते भने बाँकी परिणाम उनको पक्षमा आउन सकेको छैन।
पहिलो पटक जिते बाहेक उनी हरेक निर्वाचनमा पराजय भोग्दै आएका छन्। ११ औं महाधिवेशनमा उनी उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदमा पराजित भए ।
बराल समकालिन अन्य नेताहरुको तुलनामा पनि अवसर थुप्रै पाउने नेताभित्र पर्ने एक एमाले नेताले बताए। बरालले २०५२ सालमा तत्कालिन मोरङ क्षेत्र नम्बर ६ बाट संसदीय निर्वाचनमा टिकट पाए।
नेपाली कांग्रेसका हरिनारायण चौधरीलाई पराजित गरी उनी निर्वाचित भए। २०५६ सालमा तत्कालिन मोरङ ६ बाट उनी नेपाली कांग्रेसका हरिनारायण चौधरीसँग पराजित भए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले मोरङ ८ बाट टिकट पाए। बराललाई नेकपा माओवादीका गोपी आछामीले पराजित गरे।
बरालले पुनः दोश्रो संविधानसभा २०७० मा मोरङ ३ बाट टिकट पाए। उनी नेपाली कांग्रेसका दीलिप गच्छदारसँग कम मतान्तरले पराजित भए।
२०७८ मा नेता बरालले राष्ट्रियसभा सदस्यको टिकट पाए। तर, नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग पराजित भए।
राष्ट्रियसभा निर्वाचनमा बराल र बस्नेतले बराबरी ४ हजार ४८८ मत पाएका थिए। उनी गोलाप्रथाबाट पराजित भएका थिए ।
०७९ काे प्रदेशसभा निर्वाचनमा माेरङ ६ (ख) बाट उम्मेदवार हुन खाेजेका थिए । कार्यकर्ताकाे चर्काे विराेधपछि पछि हटेका थिए ।