विराट सडक महाेत्सव माघ १ देखि हुने

विराटनगर ४ पुस । विराट सडक महोत्सवको पाँचौँ संस्करण आगामी  माघ १ देखि ५ गतेसम्म आयोजना हुने भएको छ।

माघे सङ्क्रान्ति तथा सोनाम ल्होसारको  अवसरमा विराटनगरको हिमालय रोडमा महोत्सव सञ्चालन गरिन लागेको आयोजक मञ्जिना मुभिज क्रिएसनका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिनुभयाे।

महोत्सवमा नेवारी, थारु, राजवंशी, लिम्बूलगायत विभिन्न आदिवासी जनजातिका परम्परागत खानाका परिकारसँगै स्टार होटलहरूमा पाइने परिकारहरू समेत समेटिएका २५ वटा फुड स्टल रहने आयोजकले जनाएको छ।

महोत्सवलाई थप आकर्षक बनाउन दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा साँझ सांगीतिक कार्यक्रम समेत आयोजना गरिनेछ। आफ्ना संस्कृति र परम्परालाई जीवन्त राख्दै सबै वर्ग र समुदायका व्यक्तिलाई एउटै थलोमा जोड्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ।

विभिन्न समुदायबाट ठूलो संख्यामा दर्शकहरू सहभागी हुने अपेक्षा गरिएको यस महोत्सवले विराटनगरलाई मनोरञ्जनको हब बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

विराटनगर महानगरपालिकाको मुख्य प्रबर्द्धनमा विगत चार वर्षदेखि सडक महाेत्सव हुँदै आएकाे छ ।