विराटनगर, २७ मंसिर । गत आर्थिक वर्ष २०८१–०८२ को तुलनामा चालू आर्थिक वर्ष २०८२–०८३ मा कोशी प्रदेशमा धान उत्पादनमा गिरावट आएको छ ।
प्रदेश कृषि निर्देशनालयका अनुसार गएको आ.व. २०८१-०८२ को तुलनामा चालू आब २०८२-०८३ करिब ५२ हजार मेट्रिक टन धान उत्पादन घटेको हो । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार गत आर्थि वर्षमा प्रदेशभर ११ लाख ८२ हजार २२१ मेट्रिक टन धान उत्पादन भएकोमा चालू आर्थिक वर्षमा घटेर ११ लाख २९ हजार ९४९ मेट्रिक टनमा पुगेको छ ।
रोपाइँका बेला खडेरी पर्नु र काट्ने बेलामा अत्याधिक वर्षा हुनु उत्पादनमा आएको गिरावट मुख्य कारण भएको कृषि निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाश कुमार डाँगी बताउनु हुन्छ । । यसका साथै किराको प्रकोप र केही क्षेत्रमा धानबालीको सट्ट अन्य वैकल्पिक बाली तर्फ किसानको रोजाइले पनि उत्पादकत्वमा असर पारेको उहाँको भनाइ छ । उत्पादनसँगै खेती गरिने क्षेत्रफल पनि थोरै घटेको निर्देशनालयले जनाएको छ ।
गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६८ हेक्टर क्षेत्रमा धान खेती भएकोमा चालू आबमा दुई लाख ६९ हजार ६८४ हेक्टरमा मात्र खेती भएको थियो । कृषि कार्यालयहरूका अनुसार धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरी जिल्लामै धान उत्पादन घटेको छ, जसका कारण कोशीको कुल उत्पादनमै असर परेको हो । झापामा यो वर्ष करिब २८ हजार टन उत्पादन घटेको छ ।
गत आबमा तीन लाख ८२ हजार ८ १२ मेट्रिक टन उत्पादन भएकोमा चालू आबमा तीन लाख ५४ हजार ३५१ मेट्रिक टन मात्रै उत्पादन भयो । मोरङमा गत आबमा तीन लाख ३९ हजार टन धान फलेकोमा चालू आबमा तीन लाख ३६ हजार ९२० टन मात्रै उत्पादन भएको छ । सुनसरीमा पनि गत आबमा दुइ लाख १७ हजार टन उत्पादन हुँदा चालू आबमा दुइ लाख ११ हजार ६०८ टन मात्रै फलेको छ ।
आगामी वर्ष बीउ सुधार, सिँचाइ बिस्तार र आपतकालीन कृषि सहायताका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गर्न सके मात्र प्रदेशको धान उत्पादन स्थिर हुने कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ प्रकाश मरासिनी बताउनु हुन्छ ।