विराटनगर २५ मंसिर । सीटी सफारीका कारण सडक अस्तव्यस्त भएका स्थानमा ‘सुरक्षित चालक’ अभियान चलाईने भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाँडै अभियान सञ्चालनको तयारी गरेको छ । कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी विनोद घिमिरेले सीटी सफारीलाई व्यवस्थित गर्नेबारे प्रदेश सरकारसँग पनि छलफल गरिएको बताउनुभयो ।
कोशी प्रदेश प्रहरीको प्रमुख भएर आएको दुई सातापछि आज पत्रकारसँगको परिचयात्मक कार्यक्रममा डिआईजी घिमिरेले सीटी सफारी चालकले सफारी सञ्चालनको सवै मापदण्ड पुरा गरेपछि ‘सुरक्षित चालक’ लेखिएको भेष्ट दिइने बताउनुभयो । सोही भेष्ट लगाएकाहरुले सञ्चालन गरेको सीटीमा मात्र यात्रा गर्न सर्वसाधारणहरुलाई आग्रह गरिने घिमिरेले बताउनुभयो ।
सिटी सफारीको मापदण्ड पुरा गरि ‘सुरक्षित चालक’ लेखिएको भेष्ट लगाउनेहरुलाई मात्रै प्रशिक्षण दिईने पनि उहाँले बताउनुभयो ।
डिआईजी घिमिरेले ट्राफिक व्यवस्थापन हातबाट गरिनु लज्जाको विषय भएको बताउनुभयो । प्रविधिका माध्यमबाट हुनुपर्ने काम हातबाट गर्नुपरेको उहाँले बताउनुभयो । जेनजी आन्दोलनका कारण ट्राफिक लाईटमा क्षतिगर्ने काम गर्नु ठिक नभएको उहाँको भनाई छ ।
जेनजी आन्दोलनका क्रममा घुसपैठ गरि चोरी, लुटपाट र आजगजीमा संलग्नहरुलाई पक्राउ गरिछाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । डिआईजी घिमिरेले भन्नुभयो,‘ जेनजी आन्दोलनका समयमा आपराधिक कार्यमा संलग्नहरु विरुद्ध उजुरी दिने समय ६ महिना मात्र रहेकाले छिटो उजुरी दिन आग्रह गर्दछु ।’
डिआईजी घिमिरेले गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण प्रहरीको मनोवल नघटेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोशी प्रदेशको नेतृत्व सम्हालेपछि विभिन्न जिल्लाहरुमा पुग्दा प्रहरीको मनोवल उच्च पाएको छु ।’
प्रहरीको अहिलेको मुख्य प्राथमिकता निर्वाचन भएको उहाँले बताउनुभयो ।
आगामी फागुन २१ गतेलाई निर्धारण गरिएको निर्वाचनलाई लक्षित गरि १४ वटै जिल्लाको सुरक्षा योजना पेश गरिएको डिआईजी घिमिरेले जानकारी दिनुभयो । सुरक्षा वातावरण नभए निर्वाचन हुन नसक्ने उहाँको भनाई छ ।
डिआईजी घिमिरेले भन्नुभयो,‘ कुनैपनि राजनीतिक दलले निर्वाचन बहिस्कार गरेको छैन । राजनीतिक दलले निर्वाचन बहिस्कार गर्दा सुरक्षा चुनौति हुने हो । बहिस्कार नभएकोले त्यो समस्या अहिले छैन ।’
जेनजी आन्दोलनका कारण भएका १ हजार ५ सय कैदीवन्दी मध्ये ५०३ जना पक्राउ परिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ फरार कैदीलाई पक्राउ अभियान नै चलाएर नियन्त्रणमा लिने काम भईरहेको छ ।’