विराटनगर २५ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर विराटनगरमा ‘मानव अधिकार, निर्वाचन र सुशासन विषयक अन्तरपुस्ता संवाद’ कार्यक्रम सम्पन्न भएको छ ।
गैसस महासंघ मोरङ र एकल महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले सुशासन भएमात्रै देशमा मानव अधिकार स्थापित हुने धारणा राखे । जेनजी आन्दोलनपछि मुलुक आर्थिक, सामाजिक र राजनैतिक रुपमा रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै उनीहरुले परिवर्तनलाई आत्मसात गरेर देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।
मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगर र मानव अधिकार सञ्जाल विराटनगरका संयोजक तथा सिविन विराटनगरका प्रमुख वासु अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
आयोगका बुढामगरले कोशी प्रदेशमा मानवअधिकारको अवस्था, राष्ट्रिय मानव अधिकार आयोगको प्राथमिकता र निर्वाचन संवेदनशिलता र सञ्जालका संयोजक अधिकारीले मानव अधिकार र स्वतन्त्र निर्वाचनका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जेनजी अगुवा प्रवेश दाहाललगायतले बोल्नु भएको थियो ।