हुलाकी राजमार्ग : मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का तोडियो

विराटनगर २३ मंसिर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सूचना मंगलबार जारी गरेको छ ।

सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो । सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ । सो सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो ।

पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो । पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल इटहरीका प्रमुख युवराज पोखरेलले बताउनुभयो ।

हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।