मतदाता नामावली अद्यावधिक गरि पठाउन स्थानीय तहलाई पत्राचार

विराटनगर, २२ मंसिर । मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशले बसाई सरी गएका तथा मृत्यू भएका तर मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिहरुको नाम एक साता (मङ्सिर २८ गते) भित्र जिल्ला निर्वाचन कार्यालयमा पठाइ सक्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय कोशी प्रदेशका निमित्त प्रदेश निर्वाचन अधिकारी चाेलाराज दङ्गालका अनुसार मतदाता नामावलीमा रहेका त्रुटी सच्याउन निवेदन दिन, कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्ने निवेदन दिन र मृत्यू भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि पनि निर्वाचन आयोगले मङ्सिर २८ गतेसम्मको समय अवधि निर्धारण गरेको छ ।

मतदाता नामावली अद्यावधिक सम्बन्धिका उजुरी, निवेन तथा सूचना सम्बन्धित व्यक्तिलाई मङ्सिर २१ देखि २७ गते सम्म अनूसुची भराई सम्बन्धित स्थानीय तह/वडा कार्यालयहरुले दर्ता गरी मङ्सिर २८ गते सम्बन्धित जिल्ला निर्वाचन आयोगको कार्यालयको इमेल ठेगानामा पठाइसक्नुपर्ने निमित्त प्रदेश निर्वाचन अधिकारी दङ्गालले प्रस्ट पार्नुभयो ।

त्रुटी सच्याउन र दोहोरो नामावली हटाउनका लागि निर्वाचन आयोगको वेवसाइट भित्र रहेको मतदाता नामावली प्रि–रजिष्ट्रेशन र अद्यावधिकमा गई अनलाइन माध्यमबाट पनि अद्यावधिक गर्न सकिने छ ।

यसरी अनलाइन माध्यमबाट अद्यावधिक गर्नेले इमेल ठेगानाबाट पठाई राख्नु नपर्ने निर्वाचन कार्यालयले जनाएको छ । यसरी विभिन्न माध्यमबाट उजुरी परेका मतदातालाई मङ्सिर २८ गते देखि पुसर १ गते सम्म प्रमाण सहित सफाइको मौका दिने बताइएको छ ।

मतदाताको सम्बन्धमा विभिन्न माध्यमबाट आएका उजुरी, निवेदन र सूचानका आधारमा आवश्यक छानवीन गरी निर्वाचन आयोगले २०८२ पुसर १५ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने   छ ।