विराटनगर २२ मंसिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोट्र्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ ।
विराटनगर–५ स्थित एभरेष्ट स्कुलले आज कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधी जित्ने खेलाडीहरु र खेलका प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अध्ययन सँगै खेलकुदका क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गरेकोमा विद्यार्थी र प्रशिक्षकलाई बधाई समेत ज्ञापन गर्नुभयो । विद्यालय स्तरीय र कलेज स्तरीय भन्दै दुई वटा क्लष्टर बनाइएको प्रतियोगितामा एभरेष्ट स्कुल कलेज तर्फ (कक्षा ११ र १२) जिल्लाकै प्रथम भएको हो ।
एभरेष्टले ६ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा कास्य पदक जितेको थियो । त्यस मध्ये कलेज तर्फको स्पर्धामा ५ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएको हो । विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार टेबल टेनिस, बास्केटबल, दौड लगायतका स्पर्धामा एभरेष्टका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । विजेता खेलाडीहरुलाई अबिर, खादाले सम्मान गर्दै मेडल र ट्रफी प्रदान गरिएको डंगोलले बताउनुभयो ।
प्याब्सनमा आवद्ध विद्यालयहरु मध्ये स्कुल तर्फ (कक्षा १–१०) ६८ विद्यालय र कलेज (कक्षा ११ र १२) तर्फ ३४ वटा विद्यालयले भाग लिएको प्याब्सन मोरङले जनाएको छ ।
कलेज तर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम हुँदा विद्यालय तर्फ मोरङ सुन्दरहरैचाको सिद्धार्थ सेकेन्डरी स्कुल प्रथम भएको थियो । सिद्धार्थले ८ स्वर्ण, ३ रजत र २ वटा कास्य पदक जितेको हो । सिद्धार्थ स्कुलका खेलाडीहरुले एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

