विराटनगर ६ मंसिर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।
आज भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो ।
काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई विजयी चौका प्रहार गरे ।
विराटनगरका लागि ओपनर जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३६ रन बनाए ।
यस्तै मार्टिन गप्टिलले १९ बलमा २ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे । नरेन भट्टले ३० बलमा १ चौका प्रहार गर्दै २४ रन बनाए ।
टिमको स्कोर २१ हुँदा ओपनर लोकेश बम व्यक्तिगत १४ रनमा आउट भएपछि मुन्से र गप्टिलले ५३ रनको साझेदारी गरेका थिए । बसिर अहमदले १९ रन जोडे । सन्दीपले अविजित ९ रन जोडे ।
बलिङमा काठमान्डुका शाहब आलमले २ तथा कप्तान करण केस, जेरार्ड एरासमस र सन्तोष यादवले समान एकरएक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
एनपीएल सिजन टु मा सुदूरपश्चिम रोएल्ससँगै विराटनगर किंग्स मात्र अपराजित छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै कीर्तिमानी स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।