विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर २० कात्तिक ।  मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ ।

हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब दिने भनेर घोषणा गरेको थियो। तर, ठूलो संख्यामा आवेदन खुलाए पनि केही मात्र नर्सले काम गर्न रुचि देखाएका छन् ।

स्वास्थ्य क्षेत्रमा मेडिकल जनशक्तिको अभाव बढ्दै गएकोले नर्सिङ पेसा नेपालमै बसेर अंगाल्न चाहनेहरूलाई विशेष तलब सुविधासहित लामो अवधिका लागि नियुक्त गर्नुपर्ने स्थिति रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा मात्रै नभई नेपालभरीकै हस्पिटललाई नर्सिङ जनशक्ति व्यवस्थापन गर्न उत्तिकै गाह्रो रहेको छ। अहिले भइरहेकोले जेनतेन चलिरहेको भएपनि सेवा विस्तार गर्न नर्सिङको अभाव हुनेछ।

विराट मेडिकलमा विगत लामो समयदेखि कार्यरत नर्सहरूको संख्या उल्लेख रहेको छ। विगत ५ देखि १० वर्षभन्दा बढी समयसम्म काम गर्ने नर्सहरूको संख्या ५० जनाभन्दा बढी रहेको छ।

हस्पिटलमा लामो समयदेखि कार्यरत नर्सहरूले काम गर्ने वातावरण र सेवा सुविधाप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

विगत १० वर्षदेखि इमर्जेन्सी विभागमा कार्यरत प्रवीण कुमार यादवले विराट नर्सिङ होममा आफ्नो परिवारको राम्रो उपचार पाएको देखेर पढाइपछि त्यहीँ काम गर्ने सोच गरेको बताए। ूयस हस्पिटलमा काम गर्नका लागि पारिवारिक वातावरण छ। अन्य हस्पिटलको तुलनामा राम्रो नै रहेको छ,उनले भने ।

त्यस्तै, १० वर्षभन्दा बढी समयदेखि शल्यक्रिया कक्षमा काम गर्दै आएका अमरेन्द्र कर्णले हस्पिटलले कर्मचारीलाई दिने सेवा सुविधा राम्रो रहेको बताए। ूमेरो घर विराटनगरमै छ र काम गर्ने स्थान पनि नजिकै भएकोले गर्दा विराट नै रोजेको हुँ,उनले भने ।

पोस्ट नेटल वार्डमा ५ वर्षदेखि काम गरिरहेकी इन्दिरा परियारले हस्पिटलमा पारिवारिक वातावरण रहेको बताइन् । अन्य हस्पिटलको तुलनामा हाम्रो समयमै तलब आउँछ। अन्यमा भने २–३ महिनामा एक चोटि आउँछ,उनले भनिन्।

डायलाइसिस वार्डमा ९ वर्षभन्दा बढी समयदेखि काम गरिरहेकी रन्जना दर्जीले मेट्रोन म्याम आएपछि सबै जनाको काम सीप हेरेर क्षमता अनुसारको तलब दिइएको जानकारी दिइन्।

हालै ५ वर्षको सम्झौता गरेर काम गरिरहेकी स्टाफ नर्स संगिता पौडेलले अन्य हस्पिटलमा लामो समय काम गर्दा समेत पैसा कम हुने भएकोले विराट मेडिकलमा आएर सम्झौता गरेको बताइन्। उनले ४५ हजार रुपैयाँँदेखि तलब सुरु गरेकी छन्।

त्यस्तै, डायलासिस वार्डमा ५ वर्षको सम्झौता गरेर काम गरिरहेकी गोमा श्रेष्ठले सम्झौता गर्नु भनेको नै तलब बढी आउनु भएको बताइन्। ूमैले काम अनुसारको तलब पाएको छु। मेरो जागिर पनि सुनिश्चित छ।

नर्सिङ जनशक्ति अभाव भइरहे पनि विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लामो समयदेखि कार्यरत नर्सहरूको अनुभव भने सकारात्मक रहेको देखिन्छ।