विराटनगर १० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन र समृद्धि प्राप्तिका लागि थप सहयोग पुगोस् भन्ने कामना गर्नुभएको छ ।
छठ पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उहाँले यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्न र आपसी सद् भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिनुभएको छ ।
विशेष गरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व अहिले काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत मनाउने चलन बढ्दै जानु खुसीको विषय रहेको उल्लेख गर्दै उहाँले यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको दायित्व र पर्यावरणीय चेतना, पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट गर्न सहयोग पुग्ने गरेको सन्देशमा बताउनुभएको छ ।
यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको शुभकामना दिँदै छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव, प्रेम र मेलमिलापको बन्धनमा बाँध्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले सन्देशमा यो पर्वले मुलुकलाई समृद्धि र समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि सम्पूर्ण देशवासीलाई उच्च राष्ट्रियताको भावले अभिप्रेरित गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।