विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित

विराटनगर १ कात्तिक । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् । आन्दोलनमा आउनुअघि अस्पताल प्रशासनलाई सरकारले तोकेको सेवा सुविधालगायतका बारेमा सम्बोधन गर्न भने पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको आन्दोलनरत एक नर्सले बताइन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले कसैलाई पनि श्रम शोषण नगरेको र हस्पिटलको क्षमताअनुसारको सेवा सुविधा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘उहाँहरुले उठाउनु भएको माग सबै हामीले पूरा गर्न नसक्ने र समस्या समाधानका लागि सरकारसँग छलफल गर्नपर्छ ।’

हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले भन्नुभयोे, ‘अस्पताल जस्तो संवेदशील क्षेत्रका कसैले पनि बिरामी छाडेर बाहिर निस्कन नमिल्ने बताउनुभयो । ं काठमाडौं गएर सरकारसँग यस विषयमा छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ उनीहरुले पाउने रकम पाउनुपर्छ । तर, राज्यले स्पष्ट कानुन बनाएर नर्सहरुको तलब, सेवासुविधा तोकिदिए दिनलाई तयार छौं । राज्यभन्दा ठूलो कोही हुँदैन र राज्यले बनाएको नीति नियम सबैले मान्नुपर्छ ।’