


विराटनगर २६ असोज । जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनु भएको छ ।
पार्टीको कोशी प्रदेश समितिद्वारा आज देखि शुरु भएको एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले सरकारले दलहरुको सहभागिता विना निर्वाचन सफल हुन नसक्ने भएकोले अविलवम्व दलहरुसँग वैठक एवं वार्ता गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी साशकिय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राख्नु भयो । उहाँले विगतको दुई तिहाई सरकारको कुशासनको कारण मुलुक गरिवीतर्फ गएकोले जेनजीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराउनुभयो ।
पार्टीका सह अध्यक्ष रकम चेम्जोङले जेनजीको आन्दोलनले भ्रष्टचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलव्धीलाई संस्थागत गर्न जनतासमक्ष जानु पर्ने बताउनु भयो । पार्टीका प्रदेश अध्यक्ष दिपक याक्ख्याको सभापतित्व भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराम यादव,पार्टीका सचिवद्वय सचिव लाक्पा शर्मा, राजकुमार राई, अर्जुन थापा र संजय सिंह लगायतले जेनजी आन्दोलन भ्रष्टाचार विरुद्ध एवं जनताको हक अधिकार स्थापित गर्न भएको विचार राख्नुभयो ।
एकता अधिवेशनमा प्रदेशका १४ जिल्ला समिति एवं विभिन्न जनवर्गीय संगठनहरुको सहभागिता रहेको छ ।

