राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति ५७ करोड

विराटनगर २५ असोज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको कुल सम्पत्ति दायित्व ५७ करोड ३८ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ म ४८ करोड ४ लाख थियो । आर्थिक वर्ष ०८१–०८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको संस्थाका अध्यक्ष जीवन काफ्लेले जानकारी दिनुभयो ।

विराटनगरमा आज आयोजित २७ औं बार्षिक साधारणसभाको अवसरमा चालु आर्थिक वर्ष २०८२–०८३ मा यसलाई बृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्याइने लक्ष्य रहेको उहाँले बताउनुभयो । संस्थाले गत आर्थिक वर्ष २०८१–०८२ मा कुल आम्दानी ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ गरेको छ । बार्षिक लक्ष्यको ९४ प्रतिशत आम्दानी भएको अध्यक्ष काफ्लेले बताउनुभयो ।

सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०८ रुपैया ७३ पैसा रहेको छ । ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैया रहेको छ । सहकारीको कोष हिसाब ४ करोड ९९ लाख ७२ हजार४३ रुपैया ३१ पैसा रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सहकारीले ५ करोड १४ लाख ३५ हजार ५६९ रुपैया ४६ पैसा कुल आम्दानी गरेकोमा ४ करोड ९२ लाख २३ हजार ९६७ रुपैया ७६ पैसा खर्च गरेको छ ।

२७ औं बार्षिक साधारणसभाका अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गरिएको छ । उहाँहरुलाई निजामती कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्य लगायतले सम्मानित गर्नु भएको थियो ।

किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाण्डौं ) लाई प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रहेको छ । दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ । सहकारीले ७५ बर्षमाथिका जेष्ठ सदस्य तथा कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ ।

गत आर्थिक वर्षमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरिएको संस्थाका सचिव ओमराज सुवेदीले बताउनुभयो ।

२०५५ साल साउन ४ गते स्थापित सहकारीमा अहिले १ हजार ८९३ जना शेयर सदस्य छन् ।