


विराटनगर २३ असोज । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । बैठकले सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिनुभयो ।
बैठकले नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालमा सिफारिस गरिएको थियो । चतुरवेदीलाई मधेश प्रहरी कार्यालय, जनकपुरधाम, श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल तथा विकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको थियो ।

