

विराटनगर २१ असोज । कोशी प्रदेश सरकारले इलामका बाढी पहिरो पीडितहरुका लागि राहत सामग्री पठाएको छ ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश सरकारले राहत सामग्री पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि तत्कालका लागि हेलिकोप्टर मार्फत पठाईएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले दैनिक उपभोग्य खाध्य सामग्रीहरु चामल, दाल, आलु तेल, नुन, बेसार तथा ब्ल्याङ्केट, सिरानी, म्याट्रेस, त्रिपालहरु इलामका लागि पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुशार अहिले लगिएको राहत सामग्री माङ्सेबुङ गाउँपालिका (गजुरमुखी धाम) र ईलाम नगरपालिकाका लागि पठाइएको हो ।
गत शुक्रबार र शनिबारको अविरल बर्षापछि आएको बाढी पहिरोका कारण विस्थापित भएकाहरुको उद्धारको कार्य पछि प्रदेश सरकारले आज राहत सामग्री पठाएको मन्त्रालयका सचिव आचार्यले बताउनुभयो ।
बाढी पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत सामग्रीहरु पठाईएको उहाँले बताउनुभयो ।
बाढी पहिरोका इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ ।
बाढी पहिरोका कारण कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । इलाममा मात्रै ३८ जनाको ज्यान गएको छ ।

