बाढीका कारण मोरङका एक सय बढी घर परिवारलाई स्थानान्तरण

विराटनगर १९ असोज । अविरल बर्षाका कारण खोलाको बाढी बस्तीमा पसेपछि मोरङका एक सय बढी घर परिवारलाई स्थानान्तरण गरिएको छ ।

विराटनगर १२ को सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई स्थानीय बखरी आधारभूत विद्यालय र दरैया आधारभूत विद्यालय तथा स्थानीय फ्याक्ट्रीमा स्थानान्तरण गरिएको छ ।

७५ घर परिवारका ३५० जनालाई स्थानान्तरण गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुशार उर्लावारी–९ बोर्डर्लाइनमा रतुवाखोलाको पानी घरमा पसेपछि २० घरलाई स्थानीय छिमेकीको घरमा स्थानान्तरण गरिएको छ ।

रतुवामाई नगरपालिका ५ चटपटे चौक स्थित कटनु खोलामा आएको बाढीमा बाँध भन्दा माथि पानि बगि डुवानमा परेको ६ घर परिवार र रतुवामाई नपा ५ महराजथान स्थित पर्ने बक्राहा खोलामा आएको बाढीबाट डुबानमा परेको ९ घर परिवारलाई सुरक्षित स्थान तर्फ पठाईएको छ ।

विराटनगर –२ पूर्व सिंगिया खोलाको पानी घरमा पसेका ३५ घरलाइ स्थानान्तरण गर्नु पर्ने सम्भावना रहेको प्रजिअ यादवले बताउनुभयो । विराटनगर –५ केशलिया ढाट शंकरवारी टोलमा केशलिया खोला वस्तिमा पसेकोका २५ घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

सुनबर्शी–३, बाहुनटोलमा बक्राहा खोलाको बाँध कटान भइ करिव ६० घरमा बाढी पसेको प्रजिअ यादवले बताउनुभयो । उहाँका अनुशार सुनबर्शी –६ बक्राहा खोलामा लगाईएको बाँधको मर्मत जारी छ ।

त्यसैगरि मिक्लाजुङ–६, मलामिटहरा छेउबाट नुनसरी खोलाको बाध कटान भइ रहेकाले स्थानीय स्तरमा खोलाको च्यानलाईज हुँदै गरेको बताईएको छ ।