आज महानवमी

विराटनगर १५ असोज । नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।

माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

सिद्धिदात्रीलाई सबै प्रकारका सिद्धि र विजयकी प्रतीक मानिन्छ । सबै शास्त्र र विधिअनुसार निष्ठाका साथ सिद्धिदात्री देवीको साधना गर्ने साधकलाई सबै सिद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

यही विश्वासका साथ आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्री देवीको पूजा गर्नेहरुको भिडभाड छ ।

आज रातिबाट नवरात्र सकिएसँगै भोलि विहीबार बिहानैदेखि विजयादशमीको टीका शुरु हुन्छ । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यस वर्ष पनि विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।