टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको ऐतिहासिक जित

विराटनगर १२ असोज । नेपालले वेस्टइन्डिजमाथि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक विजय हात पारेको छ ।

उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो । यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो ।

जवाफमा वेस्टइन्डिजले ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो विजय हो । नेपालले यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा लगातार ९ हार बेहोरेको थियो ।